लण्डन-नेपाली ब्यवस्थापनमा सञ्चालित लण्डनस्थित साउथ लण्डन कलेजले विदेशी विद्यार्थी लिन स्थगित गरेको छ । कलेज ब्यवस्थापनले एक सूचना जारी गर्दै बेलायत सरकारको आप्रवासी विद्यार्थी विरुद्धको कडा नियमका कारण उक्त निर्णय लिनु परेको जनाएको छ ।
“बेलायत सरकारको अर्को राम्रो नीति नआएसम्मका लागि यूरोपियन युनियनबाहेक देशका विद्यार्थीहरु लिन स्थगित गरेका छौं,” कलेजका एडमिसन म्यानेजर द्विराज थापाले जारी गरेको सूचनामा छ, “अहिले कन्जरभेटिभले नेतृत्व गरेको मिलिजुली सरकाले यूरोपियन यूनियनबाहेकका आप्रवासीलाई कडा नियम लगाई आप्रवासी संख्या घटाउन लागेकाले अवस्था सुधार नआएसम्मका लागि यस्तो निर्णय लिएका हौं ।”
उनले बेलायत सरकारको बदलिएको आप्रवासी नियमले गर्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि एकदमै गाह्रो परेकाले उक्त निर्णय लिनुपर्ने अवस्था सिर्जना भएको बताए ।
केही समयदेखि सन् २०१५ मा हुने निर्वाचनलाई केन्द्रीत गर्दै बेलायत सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई कडाइ गरिरहेको छ । जसका कारण अहिले बेलायतको प्राइभेट कलेजमा यूरोपियन युनियन बाहिरबाट आउने विद्यार्थीको संख्यामा ठूलो गिरावट छ ।
हाल साउथ लण्डन कलेजमा यूरोपियन यूनियन देशका ३ सय र अन्य २ सय विद्यार्थी अध्ययनरत रहेको कलेज व्यवस्थापनको दावी छ । युकेबीएले केही समयदेखि कलेजको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने लाइसेन्स निलम्बन गरिदिएको छ । अहिले पढिरहेका विद्यार्थीहरुको पढाइ निरन्तरता दिदैं कलेजले आफ्ना कार्यक्रमहरु भने अगाडि बढाउने थापाले बताए ।