बाबु-छोरी एकैसाल ग्राजुयटेड

 

बसन्त गुरुङ

बसन्त गुरुङ

लण्डन । अंग्रेजीमा भनाइ छ -सिक्नलाई कहिल्यै ढिला हुँदैन ।
यही भनाइलाई ब्यवहारमा उतार्दै पूर्व गोरखा सैनिक बसन्त गुरुङले ५२ वर्षको उमेरमा लण्डनस्थित ओपन युनिभर्सिटीबाट स्नातक गरेका छन् ।
संयोग यस्तो पर्‍यो कि यसैसाल उनकी कान्छी छोरी सुजन गुरुङले पनि ब्रुनेल युनिभर्सिटीबाट एरोस्पेस इन्जियिरिंगमा स्नातकोत्तर गरिन् ।

000
ताप्लेजुङको सदरमुकाम तत्कालीन फुङलिङ गाविस (हाल नगरपालिका) वडा नम्बर ६ बतासेमा जन्मिएका गुरुङको प्राथमिक शिक्षा हाङदेवा गाविसको सिद्धिडाँडा स्कुलमा भयो । त्यसपछि माध्यमिक तह पढ्न गए सदरमुकामको भानु जनमावि ।
पढ्दैजाँदा पढाइसँगै विद्यार्थी राजनीतिले उनलाई तान्यो । पढाइमा अब्बल उनलाई २०३६ सालको राजनीतिक माहौलले छोयो । त्यतिबेलासम्म अनेरास्ववियुको विद्यालय समितिका अध्यक्ष भइसकेका थिए उनी । उनकै शब्दमा ‘ठुटे नेता’ भइसकेका थिए । तर राजनीतिमा उनको प्रगतिले बाउआमालाई भने चिन्तित बनाएको थियो – पढ्न पठाएको छोरो कुन दिन थुनिएला भन्ने । त्यसैले बाउआमाले उपाय रचे-छोरोलाई लाहुरे भिड्न पठाइदिऊँ ।
बाउआमाको कर नाइँ भन्न सकेनन् उनले । एकपटक गल्लासित देखिादैमा के बिग्रेला भन्दाभन्दै उनी साढे १७ वर्षको उमेरमा भर्ती भए । संयोग यस्तो पर्याे उनी भर्ती भएर धरानतिर लाग्दै थिए । त्यसैबेला पक्राउ पुर्जी बोकेर प्रहरी उनको घर पुगेका थिए । कक्षा १० का विद्यार्थी थिए उनी त्यतिबेला ।
भर्तीपछि पहिलेको जीटीआर अहिलेको क्युओजीएलआरमा २११६४००५ नम्बर पाए गुरुङले । पढाइसितको भोक मरेको थिएन उनको । आर्मीभित्रै उनले तालिमका कोर्सहरु गरे । बटालियन हङकङमा भएका बेला एसएलसी दिन कोसिस गरे तर सफल भएनन् । प्राइभेट ओ लेभल पढ्न खोजे त्यो पनि सम्भव भएन ।
फुटबल, भलिबल, बास्केटबल, हकीका खेलाडी उनलाई खेलकुदले निकै ब्यस्त बनाउँथ्यो । तैपनि पढाइको तृष्णालाई उनले मर्न दिएनन् । सैनिकसेवा भित्रकै तालिमहरु स्वयंसेवीरुपमा भाग लिए । पर्वते म्यागेजिनमा अंग्रेजी नेपालीमा लेखहरु लेख्दै पढाइको तलतल मेट्दै रहे ।
पल्टन युके आएका बखत नेशनल भोकेसनल क्वालफिकेसन्स (एनभीक्यु) र बिजनेस एण्ट टेक्नोलोजी एजुकेशनल काउन्सिल (बीटेक) का कोर्सहरु गरे । तैपनि आर्मीको १९ वर्षे सेवावधिभित्र औपचारिक डिग्री लिने उनको रहर पूरा भएन ।
अवकाश पाएपछि उनी नेपाल फिरे । भन्सार विभागमा ७ वर्ष एअर फ्रेट अफिसर भएर सातवर्ष काम गरे । आफू मातहतमा अधिकृतहरु काम गर्ने तर आफ्नो औपचारिक डिग्री नहुँदा सधैँ उनलाई असजिलो लागिरहन्थ्यो ।
त्यसो त उनले नेपालमै प्राइभेट पढ्न पनि खोजे तर एसएलसी पास नभएका कारण उच्चशिक्षाा पढ्न सम्भव भएन ।
२००६ को जुनमा युके आएपछि उनले ओपन युनिभर्सिटीका बारेमा अनुसन्धान गरे । राति, साँझ पढाउने निजी कलेजका बारेमा बुझे । स्थानीय पुस्तकालयहरुमा गएर सोधखोज गरे ।
जहाँ इच्छा त्यहाँ उपाय । पुराना पढाइका आधारमा ओपन युनिभर्सिटीमा पढ्न पाउने भए उनले । मरुभूमिमा पानीको कुवा फेला परेजस्तै भयो उनका लागि ।
नभन्दै सन् २००८ मा ओपन युनिभर्सिटीमा बिज्नेस म्यानेजमेण्टमा उनी स्नातक तहमा भर्ना भए ।
पढ्न पाउँदाको जोश त थियो उनीसित तर पढाइ छुटेको वर्षौं भइसकेकाले कतै नसकिएला कि भन्ने चिन्ता पनि ।
युनिभर्सिटीको शुरुका कक्षाहरु कसरी पढ्ने बानी बसाउने भन्ने बारेमा हुन्थे । त्यसले उनलाई हौस्यायो । तर सिकाइको तह बढ्दै जाँदा चुनौती थपिंदै गयो ।
रक्षा मन्त्रालयमा निजामति तर्फका कर्मचारी उनीसित साँझ र सप्ताहन्त सधैँ फुर्सद हुन्थ्यो । साँझ ४ बजे घर आएपछि सीधै किताबमा हुन्थ्यो उनको ध्यान । उनी भन्छन् -दैनिक चार/पाँच घण्टा पढ्थेँ ।
श्रीमती, दुई छोरी, एक छोरा र एक नातिका अभिभावक उनलाई समय मिलाउन गाह्रै थियो । नातागोता, नम्बरी, गाउँले, जिल्लाबासी, साथीभाइ सबैलाई चित्त बुझाउनलाई भूमिगत पनि हुन सक्तैनथे उनी । तैपनि उनले हरेस खाएनन् ।
“असाइनमेण्ट बुझाउनेताका चाहिँ घरमा पाहुना पनि नआइएदिएहुन्थ्यो भन्ने लाग्थ्यो” अनुभूति उतार्दै उनी भन्छन् । श्रीमती काममा, छोरी छोरा दुईटै युनिभर्सिटी हुँदा साँझ भात पकाउने जिम्मा पनि उनकै काँधमा थियो । त्यसो त भात पकाउन उनलाई अल्छी लाग्ने होइन । बरु एकाध घण्टा पढ्ने समय नष्ट भएकोमा उनी चुक्चुकाउँथे ।
साथीभाइले कतै फोन गरिहाल्लान् कि भन्ने उनलाई पीर रहिरहन्थ्यो किनभने उनी पढाइको चापले रहर पुग्नेगरी लामो बोल्न सक्दैनथे । सकेसम्म फोन नगरुन् भन्ने लाग्थ्यो उनलाई ।
अहिले डिग्री हात परेपछि उनलाई लाग्छ पढाइले धेरै आत्मविश्वास बढाउँदो रहेछ । पढाइ र कामसँगै गरिने भएकाले ओपन युनिभर्सिटीको डिग्रीलाई सम्मानले हेरिन्छ । त्यसैले उनलाई सहकर्मीहरुले भन्दारहेछन् ‘डाक्टर बसन्त गुरुङ’ ।
अब मास्टर्स पनि गर्ने कि भन्ने प्रश्नमा उनले ठट्टा गर्दै भने-म ४० वर्षको भए गर्ने थिएँ पनि होला । अब त मास्टर्स गर्दा म ५५ वर्षको हुन्छु । तैपनि जोश चाहिँ चल्दै छ ।

०००

सुजन गुरुङ

सुजन गुरुङ

उता सुजनले यहीसाल ब्रुनेलबाट एरोस्पेश इन्जिनियरिंगमा मास्टर्स गरिन् । नेपालबाट प्लस टु गरेर आएकी उनले शुरुमा यहाँ ए लेभल गरिन् । त्यसपछि शुरु भयो ब्रुनेलको यात्रा । गत वर्षको मार्च/अप्रिलमा उनको फाइनल परीक्षा थियो । तर त्यहीबेला बिरामी परिन् उनी । उनकै शब्दमा भन्नुपर्दा ‘क्षयरोग’ ले थलाएको थियो उनलाई ।
बिरामीबाट तंग्रिएपछि अगष्टमा उनी परीक्षामा बसिन् र उत्कृष्ट अंकका साथ पास पनि भइन् । तर सहकक्षीहरुसित ग्राजयुसन सेरेमोनीमा उनले भाग लिन पाइनन् । किनकि त्यतिबेला उनको रिजल्ट आइसकेको थिएन ।
उनले आउने जुलाईमा हुने ग्राजुयसन सेरेमोनी कुर्नपर्ने भएको छ ।
हाल ब्रिटिश एयरवेजमा कार्यरत सुजनको उडानकै क्षेत्रमा विज्ञ बन्न चाहन्छिन् ।
पिताले आफूभन्दा अगाडि ग्राजुयसन गरेकोमा उनलाई कताकता डाहा पनि भइराखेको छ । तैपनि समग्रमा उनलाई गर्व नै लागेको छ । “पढाइ छाडेको त्यत्रो वर्षपछि पढेर ग्राजुयसन गर्नुभयो । हामीलाई खुशी लागेको छ” उनले भनिन् ।
अरुका पिताले छोरीछोरीलाई पढाउन/हुर्काउन पूरा समय दिने गरेकोमा आफ्नो पिताले उल्टो आफैं युनिभर्सिटी पढ्दा अभिभावकत्वको पो कतै कमी भयो कि ? “युके आउँदा हामी हुर्किसकेका थियौँ । इण्डिपेण्डेण्ट भइसकेका थियौ । फेरि पढ्ने उहाँको इच्छा थियो । हामीले कहिल्यै अभिभावकत्व अभाव महसुस गरेनौं” उनको जवाफ थियो ।

०००
उता बसन्तका कान्छा छोरा विवेश गुरुङले अर्को वर्ष पोस्माउथ युनिभर्सिटीबाट मेकानिकल इन्जिनियरिंगमा ग्राजुयसन गर्दैछन् । विवाह भैसकेकी जेठी छोरी नेपालमा स्टाफ नर्स थिइन् र युकेमा पनि पढ्दैछिन् ।
अब मेरो सुसनलाई प्रश्न थियो -आमालाई चाहिँ कहिले ग्राजुयट बनाउने ? सँगै बसन्तलाई उही प्रश्न थियो – भाउजुलाई कहिले ग्राजुयट बनाउने ?

प्रतिक्रिया

सम्बन्धित सामाग्री