लण्डन । …नेपालीको छोरा हुँ भन्छ शिरमा टोपी छैन..
बाल्यकालमा रेडियोमा धन्कन्थ्यो यस्तो गीत । बज्थ्यो देउसीभैलो मेलापातमा पनि । गीतको गेडामा जस्तो आजकल नेपालभित्रै हाम्रा मौलिक भेषभूषाहरु बिरानो बन्दैछन् । परदेशमा त कुरै नगरौँ ।
मंगोलियन देखे चिनियाँ, थाई वा फिलिपिनो । आर्यन देखे इण्डियन । युकेमा नेपालीको परिचय अनुहारले बताउन सक्दैन । त्यसैले होला लण्डनमा नेपालीलाई टाढैबाट चिनाउन आठ वर्षदेखि एक नेपाली सधैँ ढाकाटोपी लगाउँदैछन् ।
००००
ढकबहादुर रानामगर कुनै नेता होइनन् । राष्ट्रियता, देशभक्तिप्रति आशक्त पनि होइनन् उनी । नेपालमा ढाकाटोपी लाएर देखावटी राष्ट्रभक्ति प्रदर्शन गर्नेहरुसित उनको कुनै लेनदेन छैन । ढाकाटोपी लाएर राष्ट्रियताका चर्का नारा लाउने कमल थापाहरु उनका कोही पर्दैनन् । न त कुनै राजनीतिक दलप्रति उनको झुकाव नै छ । कसैले उनलाई टोपी लाउन निर्देशन दिएका होइनन् । न त उनी कुनै दर्शन वा व्यक्तित्वबाट नै प्रभावित भएर उनले शिरमा टोपी ठड्याएका हुन् ।
१४ वर्ष बेलायती सेनामा काम गरेका यी पूर्व गोरखाको जीवन जिउने आफ्नै सिद्धान्त छ । २० वर्षको उमेरदेखि उनले आफ्नै मूल्यमान्यतालाई पछ्याउँदै आएका छन् ।
००००
खोटाङ जिल्लाको सुन्तले गाविसमा २०१८ साल वैशाख २३ गते शुक्रबार ढकबहादुरले पहिलोपटक यस धर्तीमा पाइला टेके । सात दिदी र दुई दाजुपछिका दशौँ नम्बरमा जन्मिए उनी । जतिबेला उनको आमाको उमेर ४५ नाघिसकेको थियो ।
बुढेसकालको कान्छो छोरा भएकाले मात्तिएका थिए उनी । थाम्नै गाह्रो । त्यसैले तीन वर्षकै उमेरमा उनलाई बाउआमाले दिदीको घर उदयपुरको खाँबु पठाइदिए । दिदी अर्कै ठाउँमा पोइल गएपछि घर फर्किए ढकबहादुर । घरमा उनको अराजकता अचाक्ली थियो । त्यसैले फेरि दिदीकै नयाँघर पठाइए । तास खेलको बिग्बिगी थियो त्यहाँ । उनले प्रण लिए तास खेल्नु ठीक होइन ।
आठ वर्षको उमेरमा घर फर्के उनी । बूढा भएका बाउ जाँड पिएर घर आउाथे । आमालाई भकुर्थे । उनले शिक्षा पाए-यो जाँडरक्सी भन्ने कुरा पिउने चीज होइन रहेछ । त्यसपछि गाउँघरमा जाँडरक्सी विरोधी भए उनी । थप पढ्नलाई खोटाङ चिसापानीको स्कुलमा कक्षा ७ मा भर्ना भए । त्यतिबेला राष्ट्रिय विकास सेवा (राविसे)बाट दीपक खरेल, सुन्दरमणि बस्नेतहरु आएका थिए । जुवा खेल्नेहरुलाई उनीहरुले खालबाटै समातेपछि उनको दिमागमा अर्को बत्ती बल्यो-जुवा पनि खेल्नहुने होइन रहेछ ।
भर्ती जान हुँदैन भन्ने अडान राख्थे उनी । जब बाउआमा पाल्ने जिम्मा थाप्लोमा आयो । त्यसपछि उनको सोचाइमा १८० डिग्रीको परिवर्तन आयो । आखिर म लाहुरे भएँ भने त म मरेपनि मेरो पेन्सनले बाउआमा पालिन सक्छन्-यही एक वाक्य उनलाई लाहुरे बनाउन काफी भयो । अन्ततः १७ वर्षको उमेरमा २०३५ सालमा भर्ती भए उनी ।
भर्तीपछि १० गोर्खा राइफल्समा परेका उनको नयाँ परिचय भयो २११६२७५३ । सानैदेखि चित्र बनाउन रुचि भएकाले पल्टनमा उनको थप काम हुन्थ्यो दुश्मनको स्केच उतार्ने । दशैँतिहार जस्ता पर्वहरुमा स्टेज सिँगार्ने ।
००००
युके जान पायो भने पैसा बढी पाइन्छ भन्ने लोभले त्यतिबेला धेरै गोरखाहरुले अविवाहित भए पनि विवाहित लेख्थे । उनले पनि त्यसै गरेका थिए । सन् १९८२ मा फोकल्याण्डमा गएका एकजना गोरखा दुर्घटनामा बितेपछि सबैको वैवाहिक स्थितिबारे अनुसन्धान भयो । उनी कसोकसो बचे ।
‘मानिसको जीवन त्यतिकै खेर फाल्नु हुन्न । अनुशासन र सिद्धान्तमा बाँधिनुपर्छ’ उनको आत्मदर्शन छ । २० वर्षको उमेरमा उनले निश्चय गरे-अब घरजम गर्ने र ३० वर्षको उमेरभित्र बालबच्चा बनाइसक्ने । २२ वर्षको उमेर उनले विवाह गरे र परिवार पल्टनमा लैजान पाए । करिब २ वर्ष परिवार राख्दा छोरी जन्म्यो तर छोराको योजना पूरा गर्न समय पर्याप्त भएन ।
सन् १९९१ मा आफ्नो अधूरो वाचा पूरा गर्न उनी भर्ती सहायक भएर नेपाल आए । केही महिना बिताएर पल्टन फर्के । अहिलेजस्तो छिनछिनमै परिवारसित टेलिफोनमा कुरा हुन्नथ्यो त्यतिबेला । छ/छ महिनामा एउटा पत्र आवतजावत हुन्थ्यो । श्रीमतीसित कुरा हुँदा उनले भन्ने गरेका थिए – छोरो जन्म्यो भने जुँगा पाल्न थाल्छु । यस्तैमा एकदिन श्रीमतीको पत्र आयो । पत्रमा लेखिएको थियो -अब जुँगा पाल्नु । उनले बुझे – घरमा छोरा जन्मेछ ।
मन लाग्यो भन्दैमा पल्टनमा जुँगा पाल्न नपाइने । तैपनि उनले पाल्न थाले । एकदिन कमाण्डिङ अफिसरले सोधे ‘ए, तैँले किन जुँगा पालेको हँ ?’ उनले ‘श्रीमतीले छोरा पाइन् भन्ने जुँगा पाल्छु भनेर कबुल गरेकोले’ पालेको जवाफ दिएछन् । जवाफले अफिसरको घैँटोमा घाम लागेछ र जुँगा पाल्न अनुमतिप्राप्त ‘सी’ कम्पनीमा पठाइदिएछन् ।
३१ वर्षको उमेर उनी पेन्सन गए । जब ३५ वर्ष पुगे उनलाई लाग्यो यदि कुनै बानीले बेफाइदा गरिरहेको छ भने त्याग्नुपर्यो । त्यतिबेला घडी लाएको देख्यो कि जो कोहीले मीत लाउन खोज्ने र घडी साट्ने चलन थियो रे । त्यसैले उनले वाचा गरे -अबदेखि घडी नै नबाँध्ने । त्यसपछि अहिलेसम्म उनले घडी बाँधेका छैनन् । ठट्टा गर्दै भन्छन् -म मर्दा पनि मेरो छोराले घडी खोल्दैन ।
४० वर्षमा उनले कुनै बानी त्यागे जसका बारेमा उनले खुलाउन चाहेनन् ।
४५ वर्ष पुग्दा उनी ब्रुनाइमा थिए । सम्झौता सिध्याएर नेपाल जाँदै थिए । उनको नयाँ कबुल थियो-सर्ट पाइन्ट नलाउने, बरु नेपालको आफ्नै मौलिक पोशाक दौरासुरुवाल लगाउने । यसबीचमा भाग्यको खेलले उनलाई नोकरी गर्न अफगानिस्तान पुर्यायो । अनि देखायो युके आउने बाटो । विदेशिनु परेपछि उनको दौरासुरुवाल लगाउने धोको शतप्रतिशत पूरा भएन तर सन् २००६ देखि युकेमा भएका सबै गोरखा आन्दोलनमा दौरासुरुवाल लाएर जाने व्यक्ति उनैमात्र थिए । अहिले पनि पार्टी, जमघटमा उनी दौरासुरुवाल नै रुचाउँछन् ।
००००
४५ औँ जन्मदिनमै हो उनले टोपी लगाउने प्रण गरेको पनि । त्यसयता सुत्दाबाहेक एकदिन पनि टोपी लगाउन उनले छुटाएका छैनन् । बरु अरुले पो किन आज टोपी नलाएको भनेर सम्झाइदिन्छन् ।
यहाँ त कामको आफ्नै पोशाक (युनिफर्म) हुन्छ । कसरी तालमेल मिलाउनुहुन्छ ? मेरो जिज्ञासा थियो । उनले भने -कामभरि कामकै टोपी लगाउाछु । काम सकिएपछि मेरै टोपी लगाउँछु ।
उनी धेरै सक्कली ढाका र भादगाउाले कालो टोपी लगाउँछन् । टोपीका सौखिन उनीसित सानोतिनो संग्रहालय नै छ । आफन्तले पनि उनलाई टोपी नै उपहार दिन्छन् । महंगोमा उनले तीनहजार रुपियाासम्मको टोपी किनेका छन् । ‘गोली धागोले बुनेको त्यो टोपी महंगो परे पनि कसैले राम्रो भनेन । बरु एक दुईजनाले यो टोपी त साह्रै महंगो छ भनेर भने’ उनी सम्झन्छन् ।
एकदिन उनी बसमा यात्रा गरिरहेका थिए । छेवैमा दुईजना नेपाली महिलाहरु बसेका रहेछन् । उनीहरुको वार्ता जब उनले सुने उनी लाजले पानीपानी भए । त्यसपछि उनले मनमनै सोचे -यदि मैले भादगाउँले टोपी लगाएको भए त उनीहरुले मलाई नेपाली भनेर चिन्थे अनि त्यसरी छाडा बोल्दैनथे । त्यसयता उनी भादगाउँले कालो टोपी धेरै लगाउँछन् ।
“मुस्लिमहरुले पनि ‘वालेकुम असलम’ भन्छन् । नेपाली र नेपाली टोपी भनेर जान्नेहरुले ‘नमस्कार’ भन्छन्” अनुभवको पोको खोल्दै उनी भन्छन् ।
धेरै गैरनेपालीले टोपी किन लगाएको भनेर पनि उनलाई सोध्छन् । ‘सर्वोच्च शिखर सगरमाथाको प्रतीक’ भनेर उनीहरुलाई जवाफ दिने गरेका रहेछन् उनले । टोपीको शिरको लामो चेप्टो भागलाई ‘नेपालको नक्शा’ भनेर भनिदिँदा रहेछन् ।
छोराछोरी हुर्कंदै गएपछि दिन यस्तो आउँछ उनीहरुको फर्माइस अनुसार लाइदिने पर्ने । खाइदिनुपर्ने । बाँचिदिनुपर्ने । उनका पनि छोराछोरी हुर्किसके । कतै उनीहरुले ‘छ्या बाबा, के यस्तो टोपी लाको छोडिदिनुस्’ भने कि ? मेरो अर्को कौतुहल ।
‘मेरो सिद्धान्त भनेपछि उनीहरुले आजसम्म एक वचन केही भनेका छैनन् । बरु मैले दौरा सुरुवाल लाएको देखेर छोराले पनि आजकल जमघट भेलामा दौरासुरुवाल लगाउँछ’ अनुमानविपरीत उनको जवाफ थियो ।
टोपी लाउँदाको सबै अनुभव रमाइलो मात्र छैन । एकपटक लण्डनको लोकप्रिय मेट्रो दैनिकमा पूर्व राजा ज्ञानेन्द्रले बिजुलीको बिल नतिरेको समाचारसँगै ढाकाटोपी लगाएको तस्वीर पनि छापिएको रहेछ । त्यो समाचार पढेपछि धेरै अपरिचितहरुले त्यो समाचार देखाउँदै उनलाई ‘तेरो दाजुभाइ’ भनेछन् ।
लण्डनको सडक, सार्वजनिक यातायात सबैतिर नेपाली टोपी ढल्काएर हिँड्दा उनलाई गर्व नै लाग्छ । तर नेपालीहरुले काम बिगारिदिए भने खानु न पाउनु अबगाल उनलाई आइपर्दोरहेछ ।