प्रजातान्त्रिक परिपाटीमा कहां चुक्यौं हामी ?

10959099_1765360607022640_1902165089_n
इतिहास सबैलाई थाहा छ, राजसंस्था र यससंगै हुर्केको राणा शासनमा वंशको आधारमा राज्य सञ्चालन गर्ने अधिकारको भागबन्डा गरिन्थ्यो । जेठो छोरा नै राजा अथवा प्रधानमन्त्री हुने वा भाई आदि इत्यादि । यस किसिमको संस्थालाई हामी जनताले निरंकुश र तानाशाही शासन पद्धतिको संज्ञा दिएर त्यस विरुद्ध जन अन्दोलन गर्यौं । हाम्रा धेरै दाजु भाई, दिदी बहिनी शहिद भएपछि देशमा शासन पद्धति परिवर्तन भयो । राणाबाट फेरी शाहमा देशको बागडोर गयो र केहि समय पश्चात हामीलाई त्यो पनि ठिक लागेन र फेरी आन्दोलन भयो, जनता जनार्धन शहिद भए र हामी सबैले परिकल्पना गरेको जनताका लागि प्रजातान्त्रिक पद्धति स्थापना भयो । यसमा केहि स्थापित राजनैतिक दलहरुको निरन्तरता कायम रह्यो भने केहि नयां राजनैतिक पार्टीको उत्पति । अब राजनीतिक अन्योलताले निकास पाउने र गरिवीबाट मुक्त हुने ठूलो आशा जनताले लिए । निर्वाचनपछि विभिन्न राजनैतिक दलका सरकार बने, विश्वास र अविश्वासका कारण धेरै पटक सरकार परिवर्तनका श्रृंखला भए । फरक राजनैतिक पार्टीको सरकार मात्र होइन, उही पार्टीका छुट्टै व्यक्तिलाई प्रधानमन्त्री बनाएर सरकार परिवर्तन समेत गरियो जसको साक्षी हामी सबै जनता छौं । तर अन्तमा हामी जनता र देशले के पायौं ? प्रजातान्त्रिक परिपाटीले हामीलाई के दियो ? के प्रजातान्त्रिक परिपाटी हाम्रो देशलाई नसुहाएकै हो त ? अब हामीले एकपटक सोच्ने अवस्था आएको छ ।
प्रजातन्त्र र प्रजातान्त्रिक परिपाटीको कुनै अर्को विकल्प छ भनेर सोच्नु पनि मुर्खता हो र यो व्यवस्था नै यस्तो दरो र भरपर्दो छ, जसको आधारमा आज विश्वका अति विकसित मुलुकहरु विकासको चरम सिमामा पुग्न सफल भएका छन् । यो नै यस्तो कडी हो जसले जनताका आवाज र मागहरु सरकारसम्म सहज रुपमा पुर्याएर सरकारलाई जनता र देशको हितमा कार्य गर्न उत्प्रेरित गर्छ । यस्तो व्यवस्था पाएर पनि किन आज हाम्रो दुर्दशा भइरहेको छ ? हामी कुन कुरामा कहांनेर चुकी रहेका छौ ? आज हामीले आत्मालोचना गरेर गलत कुरा पत्ता लगाई त्यसमा सुधार नल्याएसम्म देश र जनताले निकास र विकास पाउंछौ भन्ने कल्पना गर्नु सायद मुर्खता हुन्छ ।
प्रजातन्त्र र प्रजातान्त्रिक परिपाटीमा विभिन्न राजनैतिक दलले नै चुनावी प्रक्रिया बाट वहुमत प्राप्त गरेपछि सरकार गठन गरि देश र जनताका लागि कार्य गर्ने हो । राजनैतिक पार्टीहरुले सरकार गठन गर्न सफल भएमा देश र जनताको लागि कस्ता कार्यहरु गर्ने हो उनीहरुको चुनावी घोषणा पत्रमा उल्लेख गरेका हुन्छन् । जनताले सहि र उपयुक्त लागेका पार्टीलाई मतदान गरेका हुन्छन् र कुनै एक पार्टी ले वहुमत नल्याएमा दुई वा तीन अल्पमतका पार्टी मिलेर सरकार गठन गरेका हुन्छन् । यसरी गठन भएको सरकारले चुनावी घोषणापत्र बमोजिम काम गर्छन् वा गर्दैन् यो कुरा उक्त सरकारमा सम्मिलित व्यक्ति र समूहमा निर्भर हुने कुरा हो । यदि उक्त सरकारले उचित काम नगरेमा विपक्षी पार्टीले विरोध गर्ने र सही काम गर्न दवाव दिने कार्य गरिरहेको हुन्छ । अनि आगामी निर्वाचनमा जनतालाई फेरी नयां प्रतिनिधि चयन गर्ने अवसर प्राप्त हुन्छ । यस बेला पुराना व्यक्तिले गरेको कार्यको आधारमा पुरानै वा नयां व्यक्तिको चयन गर्ने हो त्यसको निर्णय गर्ने अवसर प्राप्त हुन्छ । यो नै जनताको एउटै र सबैभन्दा दरो हतियार हो र यसलाई सही रुपमा प्रयोग गरेमा देश र जनताले निकास र विकास प्राप्त गर्ने सम्भावना बढी हुन्छ । तर, बिडम्बना वा हाम्रो दुर्भाग्य । तपाईहरुनै त्यसको छानवीन र निर्णय गर्नुस् । देशमा भएका विभिन्न राजनैतिक पार्टीको गठन सरसर्ती हेर्दा उमेर र पार्टीभित्र कति पुरानो सदस्य हो त्यसको आधारमा कार्यभार सुम्पने परिपाटी रहेको छर्लंग देखिन्छ ।
म यहां कुनै पार्टीको व्यक्तिको नाम उच्चारण गर्न चाहन्न तर सायद तपाईंहरुले मेरो धारणा बुझ्नु भयो होला । यसरी उमेर, नाता र समयको आधारमा कार्य सुम्पने हो भने के यो एक किसिमको निरंकुश तानाशाह जस्तो भएन र ? मैले यो निरंकुश राणा र शाह जस्तो नै भन्न खोजेको चाहिं होइन तर पनि केहि रुपमा त्यस प्रवृत्तिको गुण रहेको आभास हुन्छ । 
अब एकपल्ट अन्तर्राष्ट्रिय स्तरमा हेरौं र विकसित र ठूला मुलुकहरुमा उमेर, नाता, पार्टीको सदस्य भएको समय आदि इत्यादि कुराले न्यूनतम स्थान राख्छ र व्यक्तिको सोच, विकास योजना, पार्टी, समाज र देशलाई एक सुत्रमा बांड्ने सुत्रको योजना, अन्तर्राष्ट्रिय स्तरमा छिमेकी र विदेशी मुलकसंग राखिने आपसी सम्वन्ध र व्यापारिक योजना आदि कुराहरुको आधारमा राजनैतिक पार्टीको नेता चयन गर्ने गरेको देखिन्छ । यसो हुंदा प्रतिभाशाली व्यक्ति नै राजनैतिक पार्टीको अग्रपंक्तिमा हुन्छ र उसले नै देश र जनतालाई निकास र विकासतिर निरन्तर रुपमा अघि बढाइरहेको हुन्छ ।
तसर्थ हाम्रो देशमा रहेका राजनैतिक पार्टीको गठन विभिन्न विकसित मुलकका झैं प्रत्येक व्यक्तिको प्रतिभा र देश जनतालाई विकास र निकास दिने उसको धारणा र सक्षमताको आधारमा चयन गर्ने परिपाटी स्थापना हुन अत्यन्त जरुरी छ । राजनैतिक पार्टीका कार्यकर्ताहरुले आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर देश र जनता को स्वार्थको लागि बढी कार्य गर्नु आजको आवश्यकता हो । जब सम्म यस्तो कार्य प्रणालीको अभ्यास् हुंदैन तब सम्म जनता र देशले निकाश र विकास पाउंछन् भन्ने कुरा केवल दिवा सपना नै रहन्छ भन्ने मेरो बुझाइ छ ।

ओझा इंग्ल्याण्डमा कार्यरत चार्टर्ड एकाउन्टेन्ट हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री