बेलायतका नेपाली रेष्टुरेन्टले पाएनन् कामदार

5

होली काउ रेष्टुरेन्ट

लन्डन । केही समय यता निष्क्रिय देखिएको नेपलिज क्याटरिङ एसोसिएसन यूकेले धेरैपछि गत सप्ताहन्त लन्डनमा एउटा सेमिनार राख्यो । सेमिनारको मुख्य एजेन्डा थिए कर र स्पोन्सरसीप (कामदार राख्ने प्रावधान) । बेलायतस्थित करिब तीन सय नेपाली रेष्टुरेन्टलाई प्रतिनिधित्व गर्ने ठानिएको उक्त एसोसिएसनले सेमिनारमा उजागर गरेको मुख्य समस्या नै कामदार अभाव रह्यो ।

‘अचेल कामदार अभावले रेष्टुरेन्ट नै बन्द गर्नुपर्ने स्थिति आइसक्यो’, चालिस वर्ष देखि रेष्टुरेन्ट व्यवसायमा आवद्ध नेपलिज क्याटरिङ एसोसिएसन यूकेका संरक्षक ध्रुव केसीको गुनासो छ, ‘ब्रिटिशहरु नेपाली इण्डियन रेष्टुरेन्टमा काम गर्दैनन्, नेपाली चाहिं अध्यागमन नियमको कडाइले पाउनै मुश्किल छ ।’ उनका अनुभवमा पछिल्लो समय पूर्वी युरोपेली नागरिकको आगमन बढेपनि उनीहरु नेपाली खानाबारे पर्याप्त परिचित नहुंदा व्यवसाय संकटतिर उन्मुख छन् ।

बेलायत सरकारको आप्रवासी कडाइ गर्ने नीतिसंगै धेरै अन्तर्राष्ट्रिय विद्यार्थी स्वदेश फर्किएपछि अहिले नेपाली रेष्टुरेन्टले पर्याप्त कामदार नपाइरहेको व्यवसायीले बताएका छन् । लन्डनमा सात वटा टेक वे (फाष्ट फुड रेष्टुरेन्ट) चलाइरहेका एनआरएनए यूके पूर्व अध्यक्ष कुल आचार्यले पनि कामदार अभाव खेपिरहेको जनाए । ‘सन् २००९, ०१० मा नेपाली विद्यार्थी अत्यधिक हुंदा हाम्रो व्यवसाय ९० प्रतिशत जति नेपालीले नै धानेका थिए’, आचार्य फेरिएको परिस्थिति सुनाउंछन्, ‘अहिले त काम गर्ने जनशक्ति अभावले उस्तै परे आफैं अघि सर्नुपर्ने वाध्यता छ ।’

लन्डनबाहिर त यो समस्या झन् बढि छ । ‘ब्रिटिशले वेटरको काम गर्दैनन्, नेपाली विद्यार्थीलाई कलेज छाडेर टाढा सम्म आउन सम्भव छैन्’, रेष्टुरेन्ट व्यवसायमा समेत संलग्न सर्रेस्थित स्पेश इन्टरनेशनलका कानुनी सल्लाहकार विष्णु खरेल भन्छन्, ‘रेष्टुरेन्टले सेफ पाउन त झन् कठिन भइसक्यो ।’ सेफहरु फ्रि (आवासीय अधिकार) हुने वित्तिकै राम्रो अवसरको खोजीमा अन्यत्र जांदा अभाव चुलिएको खरेलको अनुभव छ । कतिपयले नेपाली रेष्टुरेन्टमा ज्याला र अन्य सेवा सुविधा न्यून हुने भएर कामदार अभाव रहेको टिप्पणी पनि गर्ने गर्छन् । तर, व्यवसायी यो कुरामा सहमत छैनन् । बेलायत सरकारले निर्धारण गरेको न्यूनतम ज्याला नै आफूहरुले दिने व्यवसायी आचार्यको दावी छ ।

नेपलिज क्याटरिङ एसोसिएसन यूकेको अनुमानमा बेलायतमा नेपालीका रेष्टुरेन्ट करिब तीनसय हाराहारी छन् । तिनमा काम गर्ने जनशक्तिमध्ये नेपाली विद्यार्थी नै उल्लेख्य थियो । तर, यतिखेर धेरै विद्यार्थी नेपाल वा युरोपतिर लागिसकेका र भएकाको पनि ‘भिजा’ मा काम गर्ने अधिकार नहुंदा व्यवसायीलाई उपयुक्त कामदार पाउन असहज भइरहेको छ । ‘गैर कानुनी विद्यार्थी लिंदा होम अफिस (अध्यागमन) ले समाते जनही २० हजार पाउण्ड जरिवाना तिर्नुपर्ने भएपछि हामी धेरै जोखिम लिन पनि सक्दैनौं’, वेम्ली तन्दुरीका सञ्चालक केसी भन्छन्, ‘बाहिरी मुलुकबाट दक्ष कामदार झिकाउन अलिक खुकुलो नियमका लागि एसोसिएसनले सरकारसंग आवाज उठाउने सोचिरहेको छ ।’

लगनशील, मिहिनेती, इमान्दार र जुनसुकै परिस्थितिमा समेत काम गर्ने भएकाले धेरैको रोजाइ नेपाली विद्यार्थी हुने व्यवसायीको कथन छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री