लण्डन । गोरखाहरुले बेलायती राजमुकुटको सेवा गर्न शुरु गरेको दुई शताब्दी पूरा भएको अवसरमा गोरखाहरुले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् ।
गोरखा अन द एभरेष्ट नाम दिएको सो आरोहण यही मार्चबाट शुरु भई मे महिनाभित्र सकिने योजना बनाइएको छ । टोलीले नेपालतिरको दक्षिणी मोहोडाबाट सगरमाथा चढ्ने योजना बनाएको छ ।
करिब दुई वर्षअघि शुरु भएको सो आरोहण योजनाको संरक्षकमा बेलायतका राजकुमार चार्ल्स छन् भने उपाध्यक्षमा बेलायतका पूर्व सेना प्रमुख सर जनरल पिटर वाल छन् । ११ पटक सगरमाथाको सफल आरोहण गरिसकेका ख्यातिप्राप्त ब्रिटिश आरोही केन्टन कुल यस आरोहण दलका उपाध्यक्ष तथा सल्लाहकार रहेका छन् ।
गोरखा आरोहण दलको नेतृत्व क्वीन्स गोरखा इन्जिनियर्स (क्यूजीइ) का क्याप्टेन डिक घलेले गर्दैछन् । उनको नेतृत्वमा रहेको टिमको उपनेतामा सेकेण्ड गोरखा राइफल्सका मेजर एण्ड्रयू टोड, बेस क्याम्प म्यानेजरमा क्युजीईका क्याप्टेन बुद्धि भण्डारी र आरोहण दलका अन्य सदस्यहरुमा क्वीन्स गोरखा इन्जिनियर्सका डब्ल्युओटु गोविन्द राना, क्वीन्स गोरखा सिग्नलका सार्जेन्ट सुवर्ण गुरुङ, सार्जेन्ट निर्मल पाइजा पुन, क्वीन्स ओन गोरखा लजिस्टिक रेजिमेण्ट (क्यूओजीएलआर) का सार्जेन्ट पासाङ शेर्पा, क्यूओजीएलआरकै कर्पोरल यमबहादुर गुरुङ, सिग्नलका कर्पोरल मिलन कुमार राई, क्वीन्स गोरखा इन्जिनियर्सका लान्स कर्पोरल धन घले, क्यूजीईका कर्पोरल शक्ति गुरुङ, सेकेण्ड गोरखा राइफल्सका राइफलम्यान उमेश गुरुङ, फष्ट गोरखा राइफल्सका राइफलम्यान मेहरबहादुर थापा र फष्ट गोरखा राइफल्सका राइफलम्यान राकेश सुनुवार छन् ।
शुरुमा गोरखाहरु कार्यरत छ वटा युनिटबाट ८० जनालाई तालिमका लागि छनौट गरिएको थियो । त्यसमध्येबाट अन्तिम छनौट गरिएको हो ।
टोलीले आरोहणको तयारीका लागि उत्तरी वेल्स, स्कटल्याण्ड, अष्ट्रिया र मकालु क्षेत्रमा तालिम गरिसकेको छ ।
टोलीका नेता घले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने टोलीमा पर्न पाउँदा अत्यन्तै हर्ष लागेको बताउँछन् । आफ्नै मातृभूमिको हिमाल ऐतिहासिक अवसर पारेर चढ्न जान लाग्दा खुशी नलाग्ने त कुरै भएन ।
विश्वमा बहादुरी, कर्तव्यपरायण र इमानदारिताका लागि ख्याति कमाएका गोरखाहरुको पर्वतारोहणसित पनि गहिरो नाता छ । सगरमाथा आरोहणका शुरुवाती प्रयासहरु गोरखाहरुकै सहभागिता भएको पाइन्छ ।
गोरखाहरुले सबैभन्दा पहिले सन् १८८० मा पर्वतारोहणको कोसिस गरेको इतिहासकारहरुको भनाइ छ । ब्रिगेडियर इयान रिग्डेन लगायतले त पर्वतारोहणमा शेर्पाभन्दा अगाडि गोरखाहरु थिए भन्ने दाबी पनि गरेका छन् ।
त्यसयता सन् १९२२ को ब्रिटिश एभरेष्ट एक्स्पीडिसन्समा गोरखाहरुको उल्लेख्य सहभागिता थियो । ब्रिगेड अफ गोरखाजका ब्रिगेडियर जनरल चार्ली ब्रुसको नेतृत्वमा भएको सो आरोहण प्रयासमा गोरखा सैन्यका लान्स नायक तेजवीर बुढा २६ हजार फिटसम्म पुगेका थिए । सो टोली सगरमाथाको चुचुरो चुम्न भने असमर्थ रहे पनि गोरखाहरुको सहयोग बिना त्यति उचाइमा पुग्न नसकिने निस्कर्ष टीमले निकाल्यो ।
सन् १९२४ मा अल्पाइन ओलम्पिक कमिटीले सो आरोहण दलका १३ सदस्यहरुलाई स्वर्ण पदक दिएको थियो जसमा बुढा पनि एक थिए । उनले प्राप्त गरेको सो स्वर्ण पदक नै हालसम्म नेपालले ओलम्पिकमा प्राप्त गरेको एक मात्र स्वर्ण पदक हो । सो पदक अहिले बेलायतको विञ्चेष्टरस्थित गोरखा संग्रहालयमा देख्न सकिन्छ ।
त्यसयता पनि गोरखाहरुले सगरमाथा आरोहणका लागि धेरै प्रयास गरे तर अफसोच हालसम्म सेवारत गोरखाहरुले सगरमाथामा पाइलो राख्न सकेका छैनन् । त्यसैले यस आरोहण योजनाको उद्देश्य नै कम्तीमा एकजना सेवारत गोरखालाई सगरमाथाको चुचुरोमा पुर्याउने राखिएको छ । यसैगरी भावी गोरखा आरोहीहरुका लागि योग्य प्रशिक्षक तयार गर्ने र बेलायती राजमुकुटको सेवा गरेको दुई शताब्दी पुगेको अवसरलाई अविस्मरणीय बनाउने आरोहणको लक्ष्य छ ।
आरोहणलाई गोरखा वेलफेयर ट्रष्ट र गोरखा ब्रिगेड एसोसिएसनले सहयोग गरेका छन् ।