लक्ष्मी शर्मा जीवनमा तीन दिन मात्र स्कुल गइन् । तैपनि अहिले उनी नेपालकी सम्मानित उद्योगपति भएकी छिन् ।
धेरै कुरा उनले आफ्नै जीवनबाट सिकिन् । यस क्रममा उनले हिम्मत कहिल्यै हारिनन् । जे–जे आइपर्छ त्यसलाई सामना गर्दै अगाडि बढिन् । यसले उनलाई सफल बनायो । यस क्रममा उनले धेरै सङ्घर्ष गर्नुप-यो ।
लक्ष्मीका बुबा राजा त्रिभुवनकी बहिनी बुनु महारानीको दरबारको तबेलाको काम गर्थिन् । यही मेसोमार्फत उनले पूजाकोठा सफा गर्ने काम पाइन् ।
१३ वर्षमा उनको बिहे भयो । त्यसपछि उनले अनेक हन्डर खाइन् । तीनजना छोरी जन्मिएपछि उनका लोग्नेले अर्काे बिहे गरे । उनले घर छाड्नुप-यो ।
त्यतिबेला घरबाट बाहिर निस्किएर आफ्नो खुट्टामा जीवन धान्नु सानो कुरा थिएन । त्यसपछि छोराछोरीको पालनपोषणको सबै जिम्मेवारी उनको काँधमा आयो । यसका लागि उनले कहिले विदेशीकहाँ घरेलु कामदारका रूपमा काम गरिन् । कहिले टेम्पो चलाइन् ।
उनले विदेशीको सहयोगमा भारतको बनारस गएर घरेलु शिल्पकलासम्बन्धी तालिम लिएकी थिइन् । यसले उनको जीवन फेरिदियो ।
टेम्पो व्यवसायबाट भविष्य सुरक्षित नहुने देखेपछि उनले आफूसँग भएको पाँच हजार रुपैयाँले ०४३ मा लक्ष्मी उड क्राफ्ट उद्योग खोलिन् । अहिले यस उद्योगले करोडौँ रुपैयाँको कारोबार गरेको छ । दुई सयजनालाई रोजगारी दिएको छ ।
‘अभावले गर्दा अब के गर्ने भन्ने भएपछि म यस क्षेत्रमा आएँ । लोग्नेले राम्रो गरेको थियो भने म साधारण गृहिणी जीवन बिताइरहेकी हुने थिएँ,’ उनले भनिन् ।
पुराना कुरा सम्झँदै उनले भनिन्, ‘मलाई अहिले पनि याद छ । दरबारमा बस्दा पानी परेका बेला आफ्नाे घरको चुहिएको छानो सम्झिएर घरमा आमाहरू पानीले भिजे होलान् भनेर उदास हुन्थे । तर, म दरबारको अग्लो पर्खाल नाघेर बाहिर निस्कन सक्दिनथेँ । दरबारको कडा शासनले ममा एकप्रकारको अनौठो स्वभाव आयो । सबै सुखसुविधा भोगेर पनि मलाई आफू रित्तो भएजस्तो लाग्यो ।
लक्ष्मीले जतिबेला टेम्पो चलाउन थालिन् त्यतिबेला अरू कुनै पनि महिलाले टेम्पो चलाउँदैनथे । अहिले धेरै महिलाले टेम्पो चलाएर जीवन धानेका छन् ।
लक्ष्मीले पैसाको महत्व सानैमा चिनिन् । उनले अर्काको घरमा काम गर्न थाल्दा महिनाको ६० रुपैयाँ कमाइन् । यो उनको पहिलो नगद कमाइ थियो । अहिले उनी करोडौँ रुपैयाँको कारोबार गर्छिन् । उनी नेपालको सफल उद्यमीको रूपमा स्थापित भएकी छिन् । उनको कम्पनीले उत्पादन गरेको विभिन्न जनावरका सिङका टाँक विभिन्न देशमा जान्छन् । उनको कम्पनीमा अहिले दुईजना काम गर्छन् । अहिलेसम्म चार हजारभन्दा बढी कामदार दक्ष कालिगढ भएर निस्किसकेका छन् ।
उनी फ्याक्ट्रीमा आफैँ खटिरहेकी हुन्छिन् । पहिलोपल्ट फ्याक्ट्रीमा पुग्ने मानिसलाई उनी यस फ्याक्ट्रीकी महिला मालिक हुन् भन्ने लाग्दैन ।
उनले धोबीखोलामा फालिएका राँगा र भैंसीका सिङ र हड्डीका टाँक बनाउन थालेकी थिइन् । यसले काठमाडौं उपत्यकाको वातावरण प्रदूषण नियन्त्रणमा महत्वपूर्ण योगदान पु-याएको छ ।
उनी भन्छिन्, ‘अभाव त त्यस्तो अवस्थालाई भनिन्छ जतिबेला मानिसले बाध्य भएर शरीर बेच्नुपर्छ । मेरो हकमा त्यस्तो भएको छैन । भाँडा माझेर पनि बाँच्न सकिन्छ ।’
उनले देश–विदेशबाट विभिन्न किसिमका सम्मान पाएकी छिन् । लक्ष्मी स्पष्ट रूपमा बोल्छिन् । जहिल्यै पनि हाँसेर मात्र बोल्छिन् । उनी समाजसेवामा पनि रुचि राख्छिन् ।
बनारसमा तालिम लिन जाँदा लक्ष्मीले मदर टेरेसाको आश्रममा केही समय बिताइकी थिइन् । यसले गर्दा समाजसेवाप्रति उनको रुचि जाग्यो । उनले आफ्नो कम्पनीको आम्दानीको केही हिस्सा छुट्याएर सेवा कोष खडा गरेकी छिन् ।
घरपरिवारबाट अपहेलित भएका वृद्ध, हिंसापीडित महिला तथा जोखिममा परेका बालबालिकालाई आर्थिक र शैक्षिक सहयोग गरिरहेकी छिन् । राजनीतिक वातावरण औद्योगिक विकासका निम्ति उपयुक्त नभएकोमा उनी रुष्ट छिन् ।