लण्डन । बेलायतमा जन्मे हुर्केका नेपाली नयाँपुस्ताले ‘अवसर पाए अरुभन्दा हामी पनि कोहीभन्दा केही कम छैनौँ’ भन्ने देखाउन थालेका छन् ।
यस्तै एक उदाहरण बनेकी छिन् पूर्व गोरखा सैनिक सुवास जवेगू र मनमाया शेर्मा (जवेगू) की कान्छी सुपुत्री लानुमा जवेगू ।
बेलायतको बेडफोर्डसियरमा बसोबास गर्ने १४ वर्षिय लानुमा गत सोमबार युकेको लुटनमा आयोजित पूर्वी काउन्टीहरुको एक्रोब्याटिक जिम्नाष्टिक प्रतियोगितामा उत्कृष्ट बन्दै राष्ट्रिय च्याम्पियनसीपका लागि छानिएकी छिन् ।
आगामी मे १६ र १७ मा स्ट्रोक अन ट्रेण्टमा हुने एनडीए (नेशनल डेभलपमेण्ट प्लान) फाइनलमा उनले बेलायतको पूर्वी काउन्टीहरुको प्रतिनिधित्व गर्दैछिन् ।
प्रतियोगितामा बेलायतका इष्ट, इष्ट मिडल्याण्डस्, लण्डन, नर्थ, नर्थ वेष्ट, साउथ, साउथ इष्ट, साउथ वेष्ट, वेष्ट मिडल्याण्डस्, योर्कसियर गरी १० तथा स्कटल्याण्ड, वेल्स, नर्देन आयरल्याण्ड र आइल अफ म्यान गरी चार अन्य क्षेत्रबाट प्रतिस्पर्धीहरु आउने छन् ।
लिम्बु भाषामा लानुमाको अर्थ हुन्छ -जून जस्तै उज्यालो । करिब ६ वर्षको उमेरदेखि नै उनी जिम्नाष्टिकसित गाँसिइन् । र, यसै मार्फत नामजस्तै काम गर्दैछिन् ।
पिता सुवास भन्छन्, ‘शुरुमा पढाइलाई पनि सहयोग हुन्छ । फिटनेस पनि हुन्छ भनेर राखिदिएको थिएँ । पछि स्कुल र क्लवबाट पनि उसले राम्रो गरेको देखेर प्रोत्साहित गरे ।’
अहिले जीसीएसईकी विद्यार्थी लानुमाको हप्ताको चार दिन जिम्नाष्टिकमै बित्छ । आइतबार, मंगलबार, विहीबार र शुक्रबार गरी साताको करिब साढे १० घण्टा तालिममा बिताउने उनी बताउँछिन् ।
११ देखि १४ वर्ष उमेर समूहबाट खेल्ने लानुमा स्थानीय ट्रष्ट नामक क्लवमा आवद्ध छिन् । लानुमाले अहिलेसम्ममा स्थानीयस्तरमा धेरै प्रतिस्पर्धाहरु जितिसकेकी छिन् । यसैवर्ष इटलीमा आयोजित अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा उनले काँस्य पदक जितेकी छिन् । पिता सुवास भन्छन्, ‘भाग लिएका प्रतिष्पर्धामा खाली हात फर्केको रेकर्ड छैन ।’
गतवर्ष पनि उनले राष्ट्रिय च्याम्पियनसीपमा छिर्ने कोसिस गरेकी थिइन् तर उनको त्यो धोको पूरा भएन । यसपटक भने राम्रो ‘पार्टनर’ परेकाले ‘नेशनल च्याम्पियन’ हुनेमा उनी धेरै आशावादी छिन् । “‘पार्टनर’ एकदम ‘ट्यालेण्ट’ छ हामी दुवैले कडा मिहिनेत गर्यौँ भने जित्ने सम्भावना धेरै छ” उनले भनिन् ।
पाँचथरको याङनाममा जन्मेका सुवास सन् २००२ मा बेलायती सेनाबाट अवकास पाए । अवकास पाउनुअघि युकेमै रहँदा लानुमा जन्मेकी थिइन् । त्यसको चार वर्षपछि सन् २००६ मा उनी बसोबासका लागि युके आए ।
युवावस्थामा अन्य सिंपाही झैँ फुटबल, बास्केटबल, पौडी खेल्थे सुवास । खेलकुदमा त्यस्तो विशेष रुचि थिएन उनको । बरु अहिले गल्फ खेल्न आनन्द मान्छन् ।
उनी झैँ उनको ठूलो छोराको पनि रहर फुटबलमै छ । तर त्यस्तो प्रोफेसनल खेलाडि भने होइनन् ।
अरु नेपाली बाउआमा झैँ उनलाई पनि छोराछोरी खेलकुदमा होइन पढाइमा चम्किउन् भन्ने लाग्छ ।
तर छोरीको रहर पूरा गर्न उनले कति पनि कसर बाँकी राखेका छैनन् । तालिम, प्रतिस्पर्धाका लागि छोरीलाई ल्याउने-लैजाने, आवश्यक सामग्रीहरु खरिद गरिदिएका छन् उनले । हुन त उनी आफैँ पनि ब्यस्त मानिस हुन् । लिम्बुहरुको छाता संगठन किरात याक्थुङ चुम्लुङ युकेको भारी बिसाएको (निवर्तमान अध्यक्ष) उनले केही महिना मात्र भयो ।
आफूले गरेको समय र लगानीका हिसाबले अहिले छोरीले प्रगति गरेको देख्दा उनी भन्छन्, ‘म गौरवान्वीत छु ।’
छोरीले पनि बाउआमाको भावनालाई बुझिदिएरै होला पढाइमा पनि हरेक विषयमा ग्रेड ‘ए’ माथिकै लक्ष्य राखेकी छिन् । तैपनि पिता सुवास भन्छन्, ‘भोलि मेरी छोरीको राष्ट्रिय परिचय खेलकै माध्यमबाट भयो भने म सन्तुष्ट नै हुनेछु ।’
उता लानुमाले भने अहिल्यै आफ्नो क्यारियर तय गरिसकेकी छैनन् । पढाइ पनि पहिलो प्राथमिकतामै छ भने खेल पनि अविछिन्न जीवन नै बनिसकेको छ ।
‘अहिले त पढाइमै केन्द्रीत हुने हो भोलि के हुन्छ हेर्दै जाउँला’ कुराको बिट मार्दै उनले भनिन् ।