लण्डन । भनिन्छ सपना देख्न पैसा तिर्न पर्दैन । तर सित्तैमा देख्न पाइने त्यस्ता सपनाहरु सबै सस्ता भने हुँदैनन् । कुनै सपना साकार पार्न ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ त कुनै सपना त्यस्ता हुन्छन् जसले बाँचुञ्जेल लखेटिरहन्छन् ।
हो, यस्तै बारम्बार झम्टिन आउने सपनाले भूतपूपूर्व गोरखा सैनिक झपटसिंह भुजेललाई दशकौँ पछि पनि छोडेको छैन । सपनालाई वास्तविकतामा परिणत गर्न उनी अहिले पनि डटिरहेका छन् ।
सन् १९६८ मा गुल्मी जिल्लाको तम्घासमा जन्मेका भुजेल अग्रज र साथीसंगीहरुको संगतले बक्सिङ खेलमा आकर्षित भए । भारतीय सेनामा काम गर्ने गाउँलेहरुले बक्सिङ खेलका बारेमा सुनाएका कथा कहानीहरु उनको कलिलो दिमागमा ढुंगाको अक्षर बनेर खोपियो ।
त्यस्ता कथा वाचकहरु कोही भारतका विभिन्न प्रतिस्पर्धाहरुमा पदक विजेताहरु हुन्थे त कोहीले ओलम्पिकमा भारतका तर्फबाट सहभागिता जनाइसकेका हुन्थे । कोही त थिए भारत च्याम्पियन पनि । उनीहरुले नै गाउँमा बक्सिङ सिकाउन शुरु गरेका थिए । भुजेल पनि त्यहीँ भर्ना भए ।
‘हुने बिरुवाको चिल्लो पात’ भने झैँ उनले तालिम र प्रतियोगिताहरुमा राम्रो गर्दै गए । उनको प्रतिभा तम्घास र पश्चिम नेपालमा मात्र सीमित नभएर देशभर फैलिँदै गयो । गाउँले तालिमभन्दा व्यवस्थित र उच्चस्तरको तालिमका लागि उनी काठमाडौँ तानिए । उनको क्षमताले फस्टाउने मौका पाउँदै गयो ।
उमेरले २० वर्ष नटेक्दै उनले दक्षिण एसियाली खेलकुद (साफ), एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाए । सन् १९८८ मा दक्षिण कोरियाको सोलमा सम्पन्न २४ औँ ओलिम्पकमा उनले नेपालको तर्फबाट सहभागिता जनाए । ख्यातिप्राप्त बक्सर स्वर्गीय दलबहादुर रानामगर, विष्णुबहादुर सिंह, डम्बरध्वज भट्ट, रामबहादुर गिरी उनीसितै बक्सिङ टोलीमा थिए ।
त्यही ओलम्पिकमा हो, नेपालले पदक जितेको । जुन हालसम्मै नेपालले अोलम्पिकमा जितेको एकमात्र पदक हाे । तेक्वान्दोमा विधान लामाले जिताएका थिए नेपाललाई कास्य पदक ।
नेपालको राष्ट्रिय टोलीमा पर्नुअघि नै भुजेलको अर्जुनदृष्टि थियो- नेपाललाई ओलम्पिकमा पदक दिलाउने । तालिम र अनुभवले उनलाई सपनाको नजिक लैजाँदै थियो तर यसबीचमा आएको एक तुफानले हुत्याएर उनलाई झन् पर पुर्याइदियो । त्यो तुफान थियो -२०४६ को राजनीतिक परिवर्तन ।
जनआन्दोलनपछिको अवस्थालाई धेरैले राम्रो माने पनि खेलकुद क्षेत्रका लागि सही ठहर्याउन सकेनन् भुजेलले । खेलकुदमा राजनीति घुसेपछि उनले निर्णय लिए अब यसरी जीवन पार लाग्दैन । जहान, बालबच्चा पाल्न सकिँदैन, भोलि कहीँ गएर हण्डर,ठक्कर, धोका खाइन्छ । त्यसैले उनले निर्णय लिए बेलायती सेनामा भर्ती हुने । २२ वर्षको उमेरमा उनी बेलायती सेनामा प्रवेश गरे ।
भर्ती पछि पनि उनले बक्सिङलाई बिसाएनन् । दुईवर्ष हङकङ च्याम्पियन भए । थाइल्याण्डमा भएको प्रतिस्पर्धामा पनि आर्मीबाट भाग लिएर च्याम्पियन भए । यसबाहेक इंग्ल्याण्डमा भएका प्रतिस्पर्धामा पनि उनले दुईपटक अनुभव बटुल्ने अवसर पाए ।
“आर्मीमा खेल्न सक्नेले अवसर पनि पाउँछ तर खेलाडीलाई आर्मीको करियरमा भने घाटा लाग्छ” उनले भने ।
त्यसैले होला पल्टनलाई पदक दिलाएर पनि उनी आर्मीमा धेरै माथि जान सकेनन् । आर्मीमा तुलनात्मक रुपमा छिटो बढुवा हुने इन्जिनियर बटालियनमा १६ वर्ष जागिर गर्दा पनि उनी कर्पोरलभन्दा माथि उक्लिन सकेनन् ।
जागिरबाट अवकास पाउँदा उनको उमेर करिब ४० पुग्न लागिसकेको थियो तर उनको बक्सिङप्रतिको मोह थियो उस्तै किशोर । वर्षौँअघि देखेको ओलम्पिकको सपनाले उनलाई छोडेको थिएन ।
उमेर, फिटनेस, स्टामिना आदिले उनलाई अब ओलम्पिक खेल्न दिँदैनथ्यो तर उनीसित थियो घुमाउरो बाटो । त्यसैले आफ्नै घरको करेसामा उनले सन् २००९ देखि बक्सिङ सिकाउन शुरु गरे । जसलाई नाम दिए- मेडिस्टोन गोर्खा बक्सिङ क्लव । अहिले सो क्लवबाट करिब १५० प्रशिक्षार्थीले तालिम लिइरहेका छन् ।
उनीहरुलाई सिकाएर मात्र पुगेन । कति सिके मापन पनि गर्नुपर्यो । त्यसैले सन् २००९ देखि उनले निजी खर्चमा बक्सिङ प्रतियोगिता गराउँदै आएका छन् । सहभागीहरुको चाप बढ्दै जाँदा अहिले वर्षको एउटा म्याचले मात्र अपुग भयो । त्यसैले म्याच थपिएर वार्षिक दुई वटा पुगेको छ ।
तालिम र प्रतियोगिता चलाउन उनले अन्य निकाय र व्यक्तिबाट सहयोग लिएका छैनन् । हरेक प्रतियोगितामा कम्तिमा दुईदेखि छ हजार पाउण्डसम्म उनले आफ्नो खल्तीबाट ब्यहोर्नुपर्ने हुन्छ ।
त्यति खर्च गरेर पनि उनलाई पूर्ण सन्तुष्टी भने रहेनछ । भन्छन्, “यसबाट लाभ लिनेहरु प्राय गैरनेपाली छन् ।” सकेसम्म नेपालीहरु नै लाभान्वीत हुन् भन्ने उनको चाहना छ ।
वर्षभरि कमायाो, तालिम र म्याचमा खर्च गर्यो । त्यसो गर्दा घर परिवारले गुनासो गर्दैनन् ? मेरो प्रश्न थियो उनलाई । “घर परिवारले मैले जे गर्दैछु ठीकै छ भन्छन् । घरबाट ‘सपोर्ट’ नभएको भए मैले यो सबै गर्न सक्ने थिइनँ” उनले सफाइ दिए ।
आर्मीमा भर्ती हुनुअघि उनको करियरले शिखर चुम्दै थियो । नेपालका प्रशिक्षक, साथीहरु र विदेशका बक्सिङका खेलाडीले पनि उनमा सशक्त सम्भावना देखेका थिए । उनी आफैँलाई पनि आत्मविश्वास थियो नेपालका लागि ओलम्पिक, एसियाड र साफ गेममा पदक दिलाउन सक्छु भन्ने ।
तर नेपालको राजनीतिक परिवर्तनले उनले जीवनमा पनि परिवर्तन ल्याइदियो । सुरक्षित जीवन रोज्दा उनीभित्रको बक्सर झपट भुजेल बन्दी भयो ।
पहिले नेपाललाई पदक जिताउने बक्सिङ खेल अहिले ओरालोलाग्दो छ । पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताहरुको पदक तालिकामा बक्सिङ निल खाँदो छ । त्यसले उनलाई चिन्तित बनाएको छ ।
नेपाल, हङकङ र युकेमा सिकेको ज्ञानलाई उनले आफ्नो अपूरो सपना पूरा लगाउने काममा लगाउने लक्ष्य राखेका छन् । आफूकहाँ तालिम लिइरहेका नेपाली किशोर, युवाहरुको अद्भूत क्षमता देख्दा उनलाई लाग्छ अब त्यो दिन असम्भव पनि छैन । त्यसैले अहिलेलाई उनको प्राथमिकता छ – युकेमा नेपाली प्रतिभा उत्पादन गर्ने, उनी उनीहरुलाई नेपालको तर्फबाट साफ, एसियाड, ओलम्पिकमा खेलाउने ।
“मेरो धोको उच्च क्षमता भएका प्रतिभा उत्पादन गर्ने र उनीहरुलाई नेपालको तर्फबाट खेलाई ओलम्पिकमा पदक दिलाउने छ” उनले भने ।
त्यतिमात्र होइन उनी त नेपालमा बक्सिङ खेललाई नयाँ ढंगले अगाडि बढाउन पनि तयार छन् । “कोच नै हुन त सम्भव नहोला तर दुईवर्ष नेपालको बक्सिङ हेर्न पाए देखाइदिन्थेँ भन्ने चाहिँ लाग्छ” आफ्नो क्षमताप्रति विश्वस्त हुँदै उनले भने ।
तर के नेपालको खेलकुद परिषद् र बक्सिङ संघले उनको चाहना बुझ्न तयार छ त ?