भीमदत्तनगर, ११ असार । महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार बिहान ८ बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव दुई लाख २५ हजार तीन सय क्युसेक पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लेले महाकाली नदीमा पानीको बहाव बढिरहेको बताए ।
दुई दिनदेखि भइरहेको वर्षाका कारण महाकाली नदीमा बाढी आउन थालेपछि दार्चुलाको अपी नगरपालिका–११ बङ्गाबगडमा रहेको कैलाशपति निमावि आगामी आइतबारदेखि मङ्गलबारसम्म तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी कञ्चनपुरको मध्यभागमा पर्ने दोदा नदीले शङ्करपुर गाविस–७ मा कटान थालेको प्रहरीले जनाएको छ । दोदाले हालसम्म छ जनाको खेत कटान गरेको खबर आएको प्रवक्ता काफ्लेले बताए ।
त्यसैगरी महाकाली पारीको दोधारा चाँदनी नगरपालिका–१० मा पर्ने महाकाली नदी र जोगबुढा नदीको मिलन हुने क्षेत्रमा पनि डुबान पर्ने सम्भावना रहेको उनले बताए । “दुई नदीको मिलनविन्दुको वरपरको बस्तीमा डुबान पर्ने खतरा रहेको छ ।” काफ्लेले भने – “अन्यत्र अवस्था सामान्य छ ।” वर्षा नरोकिएकाले बाढीको खतरा पनि बढ्दै जाने उहाँको भनाइ छ । वर्षा नरोकिएकाले महाकालीमा पानीको बहाव अझै बढ्ने सङ्केत देखिएको छ ।