हाम्रो शरीर तन्दुरुस्त रहेमात्र हाम्रो मुटु पनि स्वास्थ्य रहन्छ र शारीरिक तन्दुरुस्त रहनका लागि हामीले क्रियाशील जीवन जिउनु पर्दछ । विभिन्न
शारीरिक क्रियाकलाप जस्तै पौडी खेल्नु, व्यायाम गर्नु अथवा कुनै खेल खेल्नु र दैनिक क्रियाकलापहरू जस्तै हिंड्ने, खेतमा काम गर्ने, भर्याङ चढ्ने आदि क्रियाकलापहरु हाम्रो शरीर तन्दुरुस्तीका उर्जाहरु हुन् । शारीरिक क्रियाकलापले नै हृदयघात हुने जोखिमलाई आधा कम गर्दछ । विभिन्न किसिमका फाइदा लिन हामीले निरन्तर विभिन्न खाले शारीरिक क्रियाकलाप गर्नु उपयोगी हुन्छ ।
शारीरिक क्रियाकलापले स्ट्रोक हुने सम्भावनालाई कम गर्दछ । यदि हृदयघात भएकाहरूमध्ये जसले शारीरिक क्रियाकलाप गरेका छन्, उनीहरूको बांच्ने सम्भावना बढि हुन्छ । स्वास्थ्यको अरु दुर्वल पक्षहरु पनि सुधार गर्न सकिन्छ । यसले हड्डी पातलो हुने जोखिमलाई कम गर्दछ र शरीर सुगठित र शक्तिशाली बनाउनेछ । चिन्ता दुर गर्दछ । गहिरो निन्द्रा पार्न र स्वस्थ्यकर वजन राख्न मद्दत गर्दछ र वृद्ध मानिसहरुलाई स्वावलम्बी हुन पनि मद्दत गर्दछ ।
जसले साइकल चलाउने, हिंड्ने जस्ता व्यायाम लगातार गर्छन्, यसबाट उनीहरूलाई निकै फाइदा हुन्छ । व्यायाम गर्दै नगर्नु भन्दा थोरै भए पनि गर्नु उत्तम हो । नाच्ने मानिसको पनि स्वास्थ्य राम्रो हुन्छ । व्यायाम सुरु गरे लगत्तै फाइदा थाह पाउन पनि सकिन्छ । यदि तपाई जिम हल जानुहुन्छ, खेल खेल्ने या विशेष व्यायामका सामानहरू प्रयोग गर्नु हुन्छ भने यी सवै क्रियाकलापले तपाईलाई तन्दुरुस्त र क्रियाशील राख्न मद्धत गर्छन् ।
तर, शारीरिक क्रियाकलापबाट फाइदा उठाउन जिम नै जानुपर्दछ भन्ने पनि होइन । हरेक दिन आफूलाई ठिक हुने क्रियाकलापहरु जस्तै सडकमा हिंडेर, जगिंग गरेर, करेसाबारीमा काम गरेर पनि फाइदा लिन सकिन्छ । जो लगातार शारीरिक क्रियाकलाप गर्छन्, उनीहरू भन्ने गर्छन् कि यसले आत्मा विश्वास बढाउनुको साथै सामाजिक रूपमा घुलमिल हुन सहयोग गर्छ ।
किन शारीरिक क्रियाकलाप मुटुको लागि राम्रो हुन्छ ?
शारीरिक तन्दुरुस्तीले कोरोनारी मुटुरोग लाग्नबाट बचाउन या सावधान हुन महत्वपूर्ण भूमिका खेल्छ ।
यसबाट निम्न लिखित फाइदाहरु पाइन्छ ः
१.शारीरिक क्रियाकलापले रक्तचाप कम गर्नुका साथै उच्च रक्तचाप हुन रोक्दछ । उच्च रक्तचाप नै कोरोनरि मुटुरोगको मुख्य जोखिमको तत्व हो । १० जनामा ९ जनालाई एउटै कारणले उच्च रक्तचाप भने हुंदैन ।
धेरै मोटो या अत्यधिक मोटो हुनु, धेरै नुन खानु, धेरै मदिरा सेवन गर्नु र शारीरिक अचलता, यी अस्वस्थ्यकर जीवनशैलीका महत्वपूर्ण पक्ष हुन् जसले गर्दा उच्च रक्तचापको जोखिम बढ्दछ ।
सधैं नियमित व्यायाम गर्ने, हिंड्ने, साइकल चलाउने या नाच्ने गर्नाले उच्च रक्तचाप भएकालाई कम गर्नुका साथै उच्च रक्तचाप हुनबाट पनि जोगाउन सक्छ ।
दैनिक शारीरिक क्रियाकलापले स्वस्थ्यकर वजन हुन महत्वपूर्ण काम गर्दछ । कति क्रियाकलाप गर्ने भन्ने साथसाथै स्वस्थ्यकर वजनको मतलव शरीरमा लिने क्यालोरीको सन्तुलन संगै कति उपयोग गरिन्छ भन्ने लेखा जोखा राख्नु आवश्यक छ । बढी वजन भएको मान्छेलाई उच्च रक्तचाप र उच्च कोलेस्ट्रोल हुने जोखिम हुन्छ, जुन कोरोनरि मुटुरोगका जोखिम हुन् ।
२.शारीरिक क्रियाकलापले मधुमेयलाई नियन्त्रण गर्दछ
शारीरिक क्रियाकलापले मधुमेय लाग्नबाट पनि बचाउंदछ । यदि कसैलाई मधुमेय भइसकेको छ भने शारीरिक क्रियाकलापले नियन्त्रण गर्न मद्धत गर्दछ । यदि पुरुषलाई मधुमेय भएको छ भने उसलाई तीन गुना बढी कोरोनरि मुटुरोग लाग्ने सम्भावना हुन्छ र मधुमेय भएको महिलालाई चार गुना बढी सम्भावना हुन्छ । अहिलेको बढ्दो शहरीकारणले पनि कम उमेरमा नै टाइप टू मधुमेह धेरै देख्न थालिएको छ । यसको प्रमुख कारणमा कम क्रियाशील जीवनशैली नै प्रमुख हुन् ।
३.यसले रगतको कोलेस्ट्रोलको मात्रालाई कम गर्दछ
व्यायामले एल डी एल र एच डि एलको अनुपात कोलेस्ट्रोललाई कम गर्न या सुधार्न मद्दत गर्दछ । एच डि एल कोलेस्ट्रोलको फाइदा पाउनका लागि नियमित शारीरिक क्रियाकलाप गर्ने गर्नुपर्दछ । जसले रक्त बाहिनी नालीमा बोसो जम्ने प्रक्रियालाई रोकथाम गर्न मद्धत गर्दछ र यसरी हृदयघात हुनबाट रोकथाम गर्दछ ।
४.शारीरिक क्रियाकलापले हृदयघातको सम्भावनालाई मात्र कम गर्ने होइन बरु हृदयघात भइसकेपछि पनि लगातार शारीरिक क्रियाकलापले कम एन्जाइना हुने र चांडै आफ्नो सामान्य जीवनमा फर्कन मदत गर्दछ । चिन्ता, डिप्रेसन आदि सबैलाई कम गराउन मद्धत गर्दछ ।
अरु उपयोगी जानकारीहरुः
शारीरिक क्रियाकलापको रफ्तार विस्तारै बढाउनु पर्दछ । व्यायाम शुरु गर्नु अगाडि जिउ तताउने गर्नु पर्दछ । यसो गर्दा शरिर व्यायामका लागि तयारी हुन्छ र गाडीको गियर गति अनुरुप क्रमिक रुपमा बढाउंदै लगेको जस्तै हो । व्यायाम सकिन लाग्दा बिस्तारै रफ्तार कम गर्दै लगि सक्याउनु पर्दछ ।
खाना खाने वितिक्कै कहिल्यै पनि व्यायाम गर्नु हुदैन घटिमा दुई घण्टा कुर्नु पर्दछ । किनभने खाना पचाउनको लागि पेटमा बढ्दो रगतको आपूर्ति चाहिन्छ । मुटुमा रगतको आपूर्ति कम गराउंदछ र यसले एन्जाइना आक्रमण या श्वास फेर्न गाह्रो जस्तो हुन्छ ।
यदि जाडोमा बाहिर हिंड्न हो भने नाकबाट श्वास लिने कोसिस गर्ने वा गलवन्दीले मुख छोप्ने गरे यसले गरम हावा तान्ने हुनाले एन्जाइनाको दुखाइ कम गर्न सकिन्छ ।
मुटु रोगीहरुले डाक्टरसंग कति र कस्तो खाले व्यायाम गर्ने रायसल्लाह गरेर उत्तम हुन्छ ।
मुटुका रोगीहरूले एन्जाइना आउने कुनै क्रियाकलाप गर्नु हुंदैन र जस्तो ठूला, गहुंगो चिज उठाउने व्यायाम गर्नु उपयुक्त हुंदैन ।
खाली पेटमा व्यायाम गर्नु राम्रो होइन, मर्निंग वाक गर्दा हल्का ब्रेकफास्ट जस्तै सानो रोटी, एउटा सुन्तला र एक कप ग्रीन टी खानु उपयुक्त हुन्छ र यसो गरेमा शरीरले सफल तरिकाबाट शक्ति उपयोग गर्न मद्दत गर्दछ ।
रुखा खोकी लागेको बेलामा व्यायाम राम्रो होइन ।
कहि दुख्यो, रिंगटा लाग्यो, धेरै थकाइ लाग्यो, विरामी जस्तो लागेमा तुरुन्त व्यायाम रोक्नुपर्दछ । एक छिन आराम गरेर पनि निको भएन भने डाक्टर कहां जानुपर्दछ ।
यदि हृदयघात भएको वा मुटुको अपरेसन भएमा हृदयरोग पुनस्र्थापना कार्यक्रममा जानु पर्दछ । यसले मुटुरोग बारे जानकारी दिनुका साथै सामान्य जीवन बिताउन सिकाउंदछ । सवै मुटुका बिरामीहरू भेटी अनुभव साटासाट गर्ने, आफ्नो मनका कुराहरू र अरूले कस्तो अनुभव र उपचार गरिरहेका छन् थाहा पाउन सकिन्छ ।
शरीरका अरू मांशपेशी जस्तै मुटु पनि एउटा शक्तिशाली मांसपेसी हो । यसलाई तन्दुरुस्ती राख्न व्यायाम अति नै जरुरी छ । एरोबिक क्रियाकलाप, दिनको आधी–घण्टा नियमित हिड्ने गरेमा यसको फाइदा चांडै नै देख्न सकिन्छ । यो नै जीवनको स्वस्थ रहने सबभन्दा उत्तम तरिका हो ।
शारीरिक क्रियाकलाप गर्दा, तिर्खा लाग्दा पनि पानी नपिई बस्नु राम्रो होइन । पानी प्रशस्त पिउनु पर्दछ ।
जति जति शारीरिक व्यायाम गर्यो उति छाती दुख्यो भने, यो एन्जाइनाको दुखाइ अथवा आर्टरीहरुमा चिल्लो जमेर सांघुरो भइ मुटुमा अक्सिजन युक्त रगत पुग्न कम भएर हो भनी बुझ्नुपर्छ ।
अति थकाइ लाग्ने या अति गाह्रो हुने भएमा व्यायाम कम गर्नुपर्दछ । आ–आफ्नो मुटुको रोगअनुसार सुहाउंदो क्रियाकलाप गर्नुपर्दछ । मुटुरोगीले ब्यायाम गर्दा स्वा स्वा हुने तर पुरा वाक्य बोल्न सक्ने किसिमले गर्नुपर्छ ।
दुई चार महिनाको लागि कडा ब्यायाम गरेर छोड्नु भन्दा सधैं गर्न सक्ने व्यायाम गर्नु वान्छनीय हुन्छ । जस्तो, काममा जाने बेलामा सधंै हिंड्ने, बसेर गफ गर्नुको सट्टा हिंडेर गर्ने जस्तो बानी बसाउनु पर्छ । आफ्नो रुटिङमा कसरी नियमित व्यायाम गर्न सकिन्छ विचार गर्नुपर्दछ । जस्तै पसलमा जांदा गाडीको सट्टा हिंड्ने, बसबाट झर्दा अलि वरै झर्ने अनि बांकी हिंड्ने, साथी भाइसंग पनि बसेर गफ गर्नुको सट्टा हिंडेर गर्ने आदि । नियमित व्यायामले शक्ति र मांशपेशीको तागत बढाउंदछ ।
के तपाई आफ्नो उचाइ अनुरुप सही वजन छ ?
आफ्नो उचाइ अनुरुप कति वजन हुनुपर्दछ यो पनि जानकारी राख्नुपर्दछ । कम्मर वरिपरी धेरै मोटो हुनु अथवा भनौं स्याउको जस्तो शरीरको बनोट भएमा यसले स्वास्थ्यमा धेरै जोखिम पैदा गर्दछ । यसबाट मुटुको रोग, मधुमेय, पक्षघात, क्यान्सर जस्ता रोगहरूबाट धेरै मान्छे पीडित हुने क्रम जारी छ । औसत मान्छेको बि एम आइ (बडी मास इन्डेक्स) १८–२५ हुनुपर्दछ ।
यो निकाल्ने सूत्रचाहिं शरीरको वजन केजीलाई आफ्नो उचाई मिटर ८ २ भाग गरि निकाल्ने हो ।
व्यायाम गरेर, यसको प्रगति २, २ हप्तामा रेकर्ड हेर्ने उपयुक्त हुन्छ ।
व्यायाम गरि सकेपछि १५–२० मिनेट आराम गरेर बस्नु पर्दछ अनि मात्रै अरू काममा लाग्नु पर्दछ । रिल्याक्सेसन् अभ्यास जति धेरै गर्यो उति जानिने कुरा हो । यसले शरीरलाई पुरा आनन्द दिई चिन्ता कम गर्न मद्दत गर्दछ । क्रियाशील जीवनयापनका साथै चिन्तामुक्त वातावारण र धुम्रपान रहित जीवन जिउनुका साथै स्वास्थ्य र सन्तुलित भोजनले कोरोनरी मुटुरोगबाट बचन वा साधान हुन महत्वपूर्ण भूमिका खेल्दछ ।
(आचार्य कोरोनरी मुटुरोग २०१० किताबका लेखक तथा नेप्लिज हार्ट फाउन्डेशन यूकेका अध्यक्ष हुन्)