मङ्गलबार भानु जयन्ती मनाइँदै

 

काठमाडौँ, २८ असार । आदिकवि भानुभक्त आचार्यको २०२औँ जन्मजयन्ती मङ्गलबार देश तथा विदेशमा विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।bhanubhakta-acharya

तनहुँको चुँदी रम्घा गाउँमा विसं १८७१ असार २९ मा जन्म भई वि सं १९२५ असोज ६ मा दिवङ्गत भानुभक्तले आध्यात्म रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली भाषा, साहित्यमा पुरयाएको योगदानका कारण उनलाई नेपाली साहित्यका आदिकविका रुपमा मान्ने गरिएको छ ।

उहाँका ‘प्रश्नोत्तर’ (विसं १९१०), ‘भक्तमाला’ (विसं १९१०), ‘वधूशिक्षा’ (विसं १९१९), रामगीता (१९२५) जस्ता काव्यसङ्ग्रह तथा अन्य फुटकर कविता प्रकाशन छन् ।

मोतीराम भट्टले विसं १९४८ मा भानुभक्तको जीवनी प्रकाशन गरेपछि नेपाली भाषा साहित्यजगत्मा भानुभक्तको योगदान प्रकाशनमा आएको हो । उनीभन्दा अघि नेपाली भाषामा लेख्ने कविहरु भए पनि तिनका रचनामा नेपाली, हिन्दी, संस्कृत, वज्र आदि भाषाको मिश्रण हुन्थ्यो । ‘भानुभक्तको रामायण’ नेपाली भाषामा लेखिएको सरस, सरल र श्रुतिमधुर भई सबै नेपालीका घर घरमा पढिन्थ्यो, जसले गर्दा पृथ्वीनारायण शाहले गरेको भौगोलिक एकीकरणमा भावनात्मक एकीकरण गराउन योगदान मिल्यो ।

पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रूपमा जन्मेका उनले हजुरबा श्रीकृष्णबाट शिक्षा पाउनाका साथै घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा प्राप्त गरेका थिए ।

आचार्यलाई राणाकालीन सङ्कटपूर्ण र अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने मार्गदर्शकका रुपमा समेत लिइन्छ । नेपाली भाषा, साहित्य, संस्कृति, धर्म, दर्शन, परम्परा, चरित्र, मर्यादा, पितृप्रेम, भ्रातृत्व, दाम्पत्य, कर्तव्य, देशप्रेम जस्ता विषयलाई लेखेर नेपाली समाजलाई महत्वपूर्ण योगदान गरेका कारण उनलाई राष्ट्रिय विभूतिको सम्मान दिइएको हो ।

भानु जयन्तीका अवसरमा भानु प्रतिष्ठानले नेपाली भाषा तथा जातीय चेतनाका प्रतीक आचार्यको जन्मजयन्तीका अवसरमा मङ्गलबार प्रभातफेरी, सम्मान तथा श्रद्धाञ्जलि समारोहको आयोजना गरेको छ । विभिन्न साहित्यिक सङ्घसंस्थाले पनि देश तथा विदेशमा विभिन्न कार्यक्रमका साथ भानुजयन्ती मनाउँदै छन् ।

नयाँ संविधानमार्फत राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन भानुभक्त र उनका कृतिको सन्दर्भ अझै बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री