मस्को, २८ असार । रसियाको सिबेरिया राज्यको ओमस्क सहरमा रहेको एक सैनिक ब्यारेक आइतबार भत्किँदा २० रसियाली सैनिकको मृत्यु भएको समाचार छ । रसियाली प्रतिरक्षा मन्त्रालयका प्रवक्ताले सोमबार सो जानकारी दिएका छन् । सो घटनामा तीन सैनिक बेपत्ता भएको पनि प्रवक्ताले थप जनाकारी दिएका छन् ।
सो भवन भत्किएका भग्नावशेषबाट ३९ व्यक्तिलाई उद्धार गरिएको र ती मध्येकै २० जनाको मृत्यु भएको प्रवक्ता आइगार कोनासेन्कोभले बताउनुभएको छ । बाँकी १९ जनाको उपचार भइरहेको बताइएको छ ।
सोमबार बिहान सबेरै सो भवनको भग्नावेशषमा पाँच सैनिक बेपत्ता हुृनुको साथै भग्नावेशेषबाट उद्धार गरिएका १९ जना उपचारार्थ अस्पतालमा भर्ना गरिएको बताइएको थियो ।
बेपत्ता सैनिकहरुको खोजीकार्य भइरहेको बताइएको छ । पूर्वी मस्काबाट करिब दुई हजार २०० किलोमिटर टाढा पर्ने ओमस्क सहरमा रहेको चारतले सो सैनिक भवन भत्किएको बताइएको छ ।