नेपालगन्ज, ३० असार । नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामाथि संविधानसभा सचिवालय र नागरिक समाजका तर्फबाट यहाँ छलफल सुरु गरिएको छ ।
संविधानसभा सचिवालयबाट आएको कर्मचारीस्तरीय टोलीले आजदेखि यहाँ नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदा किताब वितरण पनि सुरु गरेको छ ।
टोलीले यहाँका राजनीतिक दलका नेता, नागरिक समाजका अगुवा, सामाजिक संस्था, पत्रकार, कानुन व्यवसायी, उद्योगपति, व्यापारी, अधिकारकर्मीलाई मस्यौदा किताब, जिल्लामा गरिने छलफलसम्बन्धी कार्यतालिका र सुझाव फारामसमेत वितरण गरेको छ ।
बाँके जिल्लामा साउन ४ र ५ गते जनतासँग प्रत्यक्ष साक्षात्कार गरी सुझाव सङ्कलन गरिने कार्यतालिकामा उल्लेख गरिएको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा कोहलपुर नगरपालिकास्थित भेरी शीत भण्डार, क्षेत्र नं. २ को हिरमिनिया गाविसस्थित सरस्वती मावि, क्षेत्र नं. ३ मा नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालय र निर्वाचन क्षेत्र नं. ४ का लागि खजुरा बागेश्वरीस्थित ज्ञानोदय उच्च माविमा जनसभा आयोजना गरिने बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जगत बस्नेतले जानकारी दिए ।
मस्यौदामाथिको जनस्तरीय छलफलका लागि बाँके जिल्लाका सबै सभासद्को टोली पर्सि साउन १ गते यहाँ आइपुग्ने कार्यक्रम तय गरिएको जनाइएको छ ।
सचिवालयले आज यहाँ आयोजना गरेको नागरिकस्तरको छलफल कार्यक्रममा सहभागी राजनीतिक दलका नेता, पत्रकार, कानुन व्यवसायी, अधिकारीकर्मीले जनतासँग लिने सुझावलाई सरल बनाउन र सबैको सुझाव सङ्कलन हुनसक्ने गरी थप स्थान छनोट गर्न माग राखेका थिए ।
यसैगरी, नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदामा उल्लेख गरिएको आफ्नो सरोकार क्षेत्रभित्रका विषयवस्तुमाथि अधिकारवादी संस्थाबाट समेत छलफल चलाउने क्रम सुरु भएको छ ।