काठमाडौँ, ८ साउन । प्रमुख चार दलको आजको बैठकमा जनताबाट आएका सुझावलाई समेटेर साउनको २० गतेभित्र संविधान जारी गर्ने विषयमा छलफल भएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा नेपालका प्रस्तावित संविधान २०७२ को मस्यौदामा सुझाव दिन जनताको सहभागिता व्यापक र उत्साहजनक रहेको निष्कर्ष निकाल्दै ती जनताको सुझावलाई समेटेर साउन २० गतेभित्र संविधान जारी गर्ने विषयमा छलफल भएको हो ।
बैठकका बारेमा जानकारी दिँदै एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानको प्रारम्भिक मस्यौदा जनतामा लाने र सुझाव लिने कार्य अत्यन्तै उत्साहजनक र सकारात्मक ढङ्गले सम्पन्न भएको र प्रस्तावित मितिभित्रै संविधान जारी गर्ने विषयमा छलफल भएको जानकारी दिए ।
उनले भने, “जनताबाट आएका राय सुझावलाई सम्बोधन गरी मस्यौदालाई परिमार्जन र सुधार गर्न तत्काल राजनीतिक छलफल गरेर छिटो निष्कर्ष निकाल्नुपर्छ भन्ने कुरा आएको छ ।” उपाध्यक्ष श्रेष्ठले जनताबाट आएका सुझावलाई समेटी नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले जतिसक्दो छिटो प्रतिवेदन तयार पारेर साउन ११ गते बस्ने संविधानसभाको बैठकमा पेस गर्ने तयारी गरेर अघि बढ्नुपर्ने विषयमा समेत छलफल भएको बताए ।
बैठकका बारेमा जानकारी दिँदै नेकपा (एमाले)का प्रमुख सचेतक अग्नि खरेल संविधानको मस्यौदामा सुझाव दिन जनताको उत्साहजनक सहभागिता भएको र सबै विषयलाई समावेश गरी यही साउन २० गतेभित्रमा जारी गर्न सभामुखसँग कार्यतालिका मिलाउने विषयमा कुरा भएको जानकारी दिए ।
उनले जनताबाट आएका सबै प्रकारका सुझावको प्रक्रियालाई लिएर हेर्दा १०० प्रकारका सुझाव आएका र ती सुझावलाई समावेश गरेर संविधान जारी गर्न केही समय लाग्ने भएकाले २० गतेसम्म संविधान जारी गर्ने गर्नुपर्ने विषयमा व्यापक छलफल भएको बताए ।
यसैबीच, चार दलको बैठक बस्नुभन्दा अगाडि बालुवाटारमै नेपाली काँग्रेस पदाधिकारी बैठक बसेको थियो ।
संविधानको मस्यौदामा जनताबाट आएका सुझावलाई कसरी समेटेर लैजान सकिन्छ भन्नेबारेमा चार दलको बैठकका लागि कार्यसूची तय गर्न बैठक बसेको थियो ।