काठमाडौँ, १३ साउन । दक्षिण एसियाली सहयोग सङ्गठन चेम्बर्स अफ कमर्सको बैठकले यस क्षेत्रका ऊर्जा विकास तथा जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न भूमिका खेल्ने भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गत शनिबार भुटानमा सम्पन्न भएको बैठकका बारेमा जानकारी दिइएको हो । महासङ्घका पूर्वअध्यक्ष सुरज वैद्यले सो बैठकमा सार्क क्षेत्रका नागरिकलाई कुनै पनि मुलुकमा आवतजावत तथा व्यापार गर्न सहज वातावरण निर्माण गर्नका लागि समझदारी भएको जानकारी दिए । सार्क क्षेत्रका मुलुकमा पर्यटनको विशेष प्रवद्र्धन गरी दक्षिण एसियाकै आकर्षक गन्तव्य बनाउनका लागि सबै मुलुकले पूर्वाधारको विकास गर्नुपर्ने सहभागी राष्ट्रले जोड दिएको उनले बताए ।
सार्क क्षेत्रमा देखापरेको ऊर्जा सङ्कटलाई समाधान गर्न त्यस क्षेत्रमा जलविद्युत्को उत्पादनमा वृद्धि गर्नुपर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी सार्क मुलुकमा महिला उद्यमशीलताको विकास गरी महिला सशक्तीकरण तथा आर्थिक विकासमा योगदान गर्न आवश्यक रणनीति अपनाउने निर्णय बैठकले गरेको छ । सार्कका सबै मुलुकका प्रतिनिधिको सहभागिता रहेको बैठकमा नेपालको तर्फबाट महासङ्घका पूर्वअध्यक्ष वैद्यले नेतृत्व गरेका थिए ।