जाजरकोट, २६ साउन । प्रमुख दलहरुले सङ्घीय प्रदेशहरुको सीमाङ्कन गरेर आफूमाथि अन्याय गरेको भन्दै जाजरकोटवासीले आजदेखि जिल्ला बन्द गरेका छन् । अखण्ड मध्यपश्चिम हुनुपर्ने तथा प्रादेशिक राजधानी सुर्खेत हुनुपर्ने मागसहित उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।
चरणबद्ध आन्दोलनको घोषणा गर्दै उनीहरुले सदरमुकाम खलङ्गामा प्रमुख दलहरुको निर्णयविरुद्ध नाराजुलुससहित प्रदर्शन गरिरहेका छन् । “प्रदेश नं ६ को सीमाङ्कन खारेज गर, प्रादेशिक राजधानी सुर्खेतलाई घोषणा गर, जाजरकोटीलाई अन्याय गर्न पाइँदैन,” जस्ता नारा लगाउँदै उनीहरुले खलङ्गाबजार जुलुससहित परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए । आजदेखि अनिश्चितकालका लागि जिल्ला बन्द गर्ने र आमहडतालका कार्यक्रम सञ्चालन गर्ने नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।
सीमाङ्कनले आफूहरुलाई निकै मर्का परेकाले जिल्लाका सबै व्यापारी, उद्योगी, पत्रकार, शिक्षक, बुद्धिजीवी र विद्यार्थीको सहभागितामा संविधानसभाका अध्यक्षलाई ज्ञापनपत्र पठाइएको शाहले बताए ।
सोमबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत संविधानसभाका अध्यक्ष र राजनीतिक संवैधानिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईलाई पठाइएको ज्ञापनपत्रमा मध्यपश्चिम टुक्र्याउने निर्णय सच्याउन र प्रादेशिक राजधानी सुर्खेतमै बनाउन आग्रह गरिएको छ । आज बिहानैदेखि जाजरकोट बन्द गर्दा यहाँको जनजीवन प्रभावित भएको छ । बन्दले गर्दा यातायात, विद्यालय र बजार ठप्प भएका छन् ।