सुर्खेत, २७ साउन । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज तेस्रो दिन पनि कर्फयू जारी गरेको छ ।
आन्दोलन उग्र हुनसक्ने भन्दै स्थानीय प्रशासनले बिहान ११ बजेदेखि साँझ ६ बजेसमका लागि कर्फयूआदेश जारी गरेको हो । सीमाङ्कनमा अखण्ड मध्यपश्चिमको माग गर्दै सदरमुकाम वीरेन्द्रनगरमा तीन दिनदेखि आन्दोलन जारी छ ।
प्रमुख जिल्ला अधिकारी वलदेव गौतमले आन्दोलन नियन्त्रणभन्दा बाहिर नजाओस् भन्दै कर्फयू आदेश जारी गरेको बताए ।
स्थानीय प्रशासनले कर्फयू जारी गरेपनि आन्दोलनकारी आज बिहानैदेखि आन्दोलनमा उत्रेका छन् । यद्यपि अरु दिनभन्दा आज आन्दोलन शान्तिपूर्ण छ ।
आन्दोलनकारीले बिहानैदेखि प्रदर्शन जारी राखेका छन् । आन्दोलनका कारण यहाँ बजार, शिक्षणसंस्था, सरकारी कार्यालय र यातायात ठप्प छ ।
आन्दोलनका क्रममा प्रहरीको गोली लागी वीरेन्द्रनगरमा गत सोमबार तीन जनाले ज्यान गुमाएका थिए ।