सोल, ३ भदौ । दक्षिण कोरियाकी पहिलो महिला प्रधानमन्त्री भ्रष्टाचारको आरोपमा जेल सजाय सुनाइएको समाचार छ ।
बिहीबार सर्वोच्च अदालतले उहाँमाथि लागेको उक्त मुद्दाका सम्बन्धमा यसअघिको अदालतको फैसला सदर गरेपछि उहाँलाई जेल चलान गर्न आदेश दिइएको हो । यो फैसलापछि अब उहाँलाई जेल चलान गरिने छ ।
उहाँमाथि घुस लिएको आरोप लागेको थियो र त्यस विषयमा मुद्दा पनि जारी रहेको थियो । उक्त मुद्दालाई बिहीबारको सर्वाेच्च अदालतको फैसलाले सदर गरिदिएको बताइएको छ ।
एकहत्तर वर्षीया पूर्व प्रधानमन्त्री हन म्याङ सुकले दक्षिण कोरियामा सन् २००६ देखि एक वर्षसम्म प्रधानमन्त्रीका रूपमा सेवा गर्नुभएको थियो ।
उहाँलाई सन् २०१० मा नै करिब ७ लाख ६० हजार अमेरिकी डलर बराबरको रकम घुस लिएको आरोपमा मुद्दा परेको थियो ।
उक्त मुद्दामा भएको सुनुवाईका क्रममा उहाँको सो आरोप प्रमाणित भएको हो । उहाँलाई सार्वजनिक ओहदामा रहेका व्यक्तिले अवैध रकम स्वीकारेको भन्दै त्यसका लागि दुई वर्षको जेल सजाय तोकिएको छ ।
उहाँको राजनीतिक दलका राष्ट्रपतिका उम्मेदवारलाई जिताउनका लागि सन् २००७ मा व्यापारीबाट घुस रकम स्वीकार गरेको आरोप उहाँमाथि लागेको थियो ।
सन् २०१३ मा कोरियाली उच्च अदालतले सो रकम स्वीकार गरेकोमा दोषी ठहर गरेको थियो । उहाँ उक्त फैसलाको विरुद्धमा सर्वाेच्च अदालतमा अपिलमा जानुभएको थियो ।
उक्त अदालतले यसअघिको अदालतको निर्णयलाई नै सदर गरेको छ । यसअघिको अदालतले पनि उहाँलाई दुई वर्षको जेल सजाय नै तोकेको थियो ।
उहाँलाई यसअघिको फैसलाका कारण स्वतन्त्र छोडिएको भए पनि बिहीबारको यस फैसलापछि जेल चलान गरिने अब पक्का भएको समाचारमा जनाइएको छ ।
उहाँ दक्षिण कोरियाको पहिलो महिला प्रधानमन्त्री हुनुहुन्थ्यो भने पूर्व प्रधानमन्त्रीका रूपमा जेल सजाय भोग्ने पनि उहाँ नै पहिलो प्रधानमन्त्री हुनुभएको छ ।
उहाँ अहिले पनि सांसद हुनुहुन्छ । राष्ट्रिय सभाको सांसदका रूपमा रहनुभएका उहाँले अब स्वतः उक्त पद त्याग्नुपर्नेछ ।
तर उहाँले भने यो फैसला नस्वीकार्ने बताउनुभएको छ । उहाँले भन्नुभयो– म यो फैसला स्वीकार गर्ने पक्षमा नै छैन ।
उहाँले आफू राजनीतिक रूपमा शिकार भएको बताउनुभयो र भन्नुभयो– मलाई राजनीतिक रूपमा चरित्र हत्या गर्न खोजिएको छ म यो स्वीकार गर्ने पक्षमा छैन ।