खोटाङ, ४ भदौ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने बास्पानी गाविसमा निर्माण गरिएको लघु जलविद्युत् आयोजनाको परीक्षण प्रसारण हालै सुरु गरिएको छ ।
करिब चार वर्षअघिदेखि निर्माण कार्य थालिएको ६९ किलोवाट क्षमताको तापखोला लघुजलविद्युत् आयोजनाको परीक्षण प्रसारण सुरु गरिएको हो ।
भर्खरै निर्माण कार्य सकिएको लघुजलविद्युत् आयोजनाको परीक्षण प्रसारण सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए ।
आगामी असोजमा उद्घाटन गर्ने तयारी गरिएको आयोजनाबाट खार्ताम्छा र बास्पानी गाविसका ५७५ घरधुरी उपभोक्ता लाभान्वित भएका खड्काको भनाइ छ ।
लघुजलविद्युत् आयोजनाले खार्ताम्छाका वडा नं १, २, ८ र ९, बास्पानीका १ देखि ७ वडाका उपभोक्ता लाभान्वित भएका छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको दुई करोड ४१ लाख ४५ हजार तथा उपभोक्ता समितिको रु ९२ लाख ५५ हजार बराबरको श्रमदानका साथै बास्पानी र खार्ताम्छा गाविसको रु १५÷१५ लाख लगानीमा लघुजलविद्युत् आयोजना सञ्चालनमा ल्याइएको उपभोक्ता समितिले जनाएको छ ।
जिल्लालाई विद्युत्भार कटौती मुक्त गराउने अभियानलाई सफल बनाउने उद्देश्यका साथ लघुजलविद्युत् आयोजनाको निर्माण कार्य सुरु गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।