काठमाडौँ, ७ भदौ । संविधान मस्यौदा समितिले संविधानसभामा पेस गरेको नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ मा संस्थागत र व्यक्तिगत रुपमा २५ फरक मत राखिएको छ ।
फरक मत राख्नेमा एकीकृत नेकपा(माओवादी), राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक), राप्रपा, नेकपा(माले), खुम्बुवान राष्ट्रिय मोर्चा, नेकपा(माले) र सङ्घीय समाजवादी फोरम नेपाल छन् । नेपाली काँग्रेस र नेकपा(एमाले)का सभासद्ले भने व्यक्तिगत रुपमा फरक मत राखेका छन् ।
केही सभासद्ले भने फरक मत, असहमति वा ध्यानाकर्षणका रुपमा आफ्ना मत परिमार्जित विधेयकमा समावेश गरेका छन् । एमाओवादीले शासकीय स्वरुप, न्यायपालिका, सङ्घीयता, विशेष संरचना, किसान, मजदुर र श्रमजीवी वर्गको प्रतिनिधित्व, अपाङ्गता भएका व्यक्तिको हक, विस्तृत शान्ति सम्झौता र शान्ति प्रक्रिया, संवैधानिक अङ्गका पदाधिकारीको पुनःनियुक्ति, नागरिकता र जनताको भावनानुसार काम नगर्ने जनप्रतिनिधिलाई प्रत्याह्वान गर्नेलगायत विषयमा फरक मत राखेको छ ।
सो पार्टीले पार्टीगत रुपमा र मस्यौदा समितिमा रहेका सदस्य गिरिराजमणि पोखरेल, हितराज पाण्डे, प्रभु साह, गणेशमान पुन, धनीराम पौडेल, रामनारायण बिंडारी, सीता नेपाली, अमनलाल मोदी र रामसिंह यादवले सामूहिक रुपमा फरक मत राख्नुभएको छ ।
राप्रपा नेपालले धर्मनिरपेक्षता, सङ्घीयता र गणतन्त्रका सम्बन्धमा पूर्ण असहमति रहेको भन्दै फरक मत राखेको छ । नेपाल सर्वधर्म सहअस्तित्व एवम् धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र हुनुपर्ने, धार्मिक आस्था, विश्वास र मान्यताका आधारमा कुनै पनि प्रकारको भेदभाव, अन्याय र दुव्र्यवहार गरिने छैन, आआफ्नो धार्मिक मान्यता, परम्परागत र रीतिरिवाजको अवलम्बन र अध्यास गर्ने स्वतन्त्रता रहनेछ तर कसैले कसैको धर्म परिवर्तन गर्न पाउने छैन भन्ने विषयलाई फरक मतका रुपमा राखिएको छ ।
त्यस्तै नेपालको धार्मिक सांस्कृतिक एवम् राष्ट्रिय एकताका प्रतीकका रुपमा राजसंस्था राख्नुपर्ने र देशको कार्यकारिणी अधिकार प्रधानमन्त्री र मन्त्रिपरिषद्मा निहित रहनेछ भन्ने फरक मत राखिएको छ ।
नेपाली काँग्रेसका कमला पन्त, महालक्ष्मी उपाध्याय, सीता गुरुङ, आरजु देउवा र कविताकुमारी सरदारले तीनदेखि पाँच प्रतिशतसम्म मत प्रतिशत सीमा राख्नुपर्ने, संवैधानिक आयोगमा एक महिलाको प्रतिनिधित्वको प्रबन्ध गरिनुपर्ने, गाउँपालिका र नगरपालिकामा ५० प्रतिशत महिलाको अनिवार्य प्रतिनिधित्वको व्यवस्था हुुनुपर्ने, ती संस्थाका प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने, नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेको विदेशीले चाहेमा सङ्घीय कानुनबमोजिम नेपालको अङ्गीकृत नागरिकता लिन सक्नेछ भन्ने प्रावधान राख्न माग गर्दै फरक मत राख्नुभएको छ ।
यस्तै नेकपा(एमाले)का कृष्णभक्त पोखरेल, रामदयाल राकेश, शिवकुमारी गोतामे सार्की र रेवतीरमण भण्डारीले प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य सङ्ख्याको कम्तीमा एक तिहाइ सदस्य समानुपातिक समावेशी महिला हुनुपर्ने, प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा प्रादेशिक व्यवस्थापिका अध्यक्ष र उपाध्यक्ष फरक फरक लिङ्ग र समुदायको हुने व्यवस्था हुनुपर्नेलगायत विषयमा फरक मत राख्नुभएको छ ।
नेपाली काँग्रेसका रामकृष्ण यादव र महेन्द्र यादवले नागरिकताका विषयमा नेपाली मूलको सट्टा नेपाली व्यक्ति उल्लेख गर्नुपर्ने, प्रदेशको अधिकार सूचीमा मूल्य अभिवृद्धिकर समावेश गर्नुपर्ने, नागरिकता प्राप्त गर्ने प्रावधानमा बाबु र आमाको सट्टा बाबु वा आमा उल्लेख गर्नुपर्ने, संवैधानिक निकायका पदाधिकारी र सदस्यको नियुक्ति समावेशी र समानुपातिक हुनुपर्ने व्यवस्था गर्नुपर्ने विषयमा फरक मत राख्नुभएको छ ।
काँग्रेसकै जगदीश्वरनरसिंह केसी, शङ्कर भण्डारी, डा शेखर कोइराला र जीवन परियारले संविधानको प्रस्तावनामा ‘बहुलवाद’ शब्द राखिनुपर्ने, समाजवादउन्मुख र धर्मनिरपेक्षता भन्ने शब्द हटाउनुपर्ने, तीनदेखि पाँच प्रतिशतसम्म मत प्रतिशत सीमा राख्नुपर्ने र २००७ सालको जनक्रान्ति एवम् २०४६ सालको ऐतिहासिक जनआन्दोलन उल्लेख गर्नुपर्ने विषयमा फरक मत राख्नुभएको छ ।
खम्बुवान राष्ट्रिय मोर्चाले नेपालको परिभाषामा रहेको धर्मनिरपेक्षता यथावत् राख्नुपर्ने, राष्ट्रिय समावेशी आयोगको सट्टा आदिवासी जनजाति आयोग, थारु, मधेसी आयोग बनाउनुपर्ने र मत प्रतिशत सीमा राख्न नहुने जनाएको छ ।
राप्रपाका जयन्त चन्दले धर्मनिरपेक्षताका विषयमा जनमतसङ्ग्रह गर्नुपर्ने विषयमा आफ्नो फरक मत राख्नुभएको छ । नेपाल मजदुर किसान पार्टीले हिमाल पहाड, तराईसहितको भौगोलिक विविधता रहेको भन्ने शब्दसहित १४ सङ्घीय राज्य, वैज्ञानिक समाजवादउन्मुख राज्य, संविधान प्रारम्भ हुँदाको बखत नेपालको क्षेत्रफल एक लाख ४७ हजार १८१ वर्ग किमी उल्लेख गर्नुपर्ने, राष्ट्रिय जनावर ‘एकसिङ्गे गैँडा’ उल्लेख गर्नुपर्ने, रोजगारी उपलब्ध नहुँदासम्म बेरोजगार भक्त दिनुपर्नेलगायत ५३ विषयमा फरक मत राखेको छ ।