काठमाडौँ, १६ भदौ । नेपाली काँग्रेस संसदीय दल शीघ्र संविधान जारी गर्न एकताबद्ध भई सक्रिय ढङ्गले लाग्ने भएको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा आज पार्टी संसदीय दलका नेता तथा प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा बसेको बैठकले संविधान निर्माणको कार्य यथाशीघ्र सम्पन्न गर्न अन्य दलसँगको परामर्शलाई अघि बढाउने निर्णय गरेको हो ।
संविधानको मस्यौदा परिमार्जनका लागि अन्य दलको सहमति जुटाई दुई तिहाइ मतका साथ संविधान जारी गर्ने गरी आवश्यक परामर्श अघि बढाउने निर्णय भएको उपसभापति रामचन्द्र पौडेलले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार मस्यौदा परिमार्जनको काम शीर्ष नेताको सल्लाहमा मुख्य सचेतकले गर्नेछन् ।
काँग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काले संविधानसभामा प्रस्तुत संविधानको परिमार्जित विधेयकमाथि आवश्यक संशोधनका लागि अन्य दलसँग परामर्श गरी दुई तिहाइभन्दा बढी सङ्ख्या पुरयाउने गरी परामर्श गर्ने निर्णय भएको बताउनुभयो ।
संसदीय दलले विधेयक आवश्यक संशोधनका लागि परामर्श गर्न नेतृत्वलाई जिम्मा दिइएको र दुई तिहाइ पुरयाएर संशोधनको प्रस्ताव दर्ता गर्ने जिम्मा शीर्ष नेताको सल्लाहमा मुख्य सचेतकलाई दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।