बेइजिङ, १७ भदौ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र संयुक्त राष्ट्रसङ्घीय महासचिव बान कि मुनबीच भेटवार्ता भएको समाचार छ ।
चीनले बिहीबार मनाएको विजय दिवसमा सहभागी हुन आउनुभएका महासचिव बानले बिहीबारै राष्ट्रपतिसँग भेट गर्नुभएको हो ।
सो भेटका क्रममा राष्ट्रपति सिले शान्तिका लागि चीनको प्रतिबद्धता व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ ।
सो अवसरमा चिनियाँ राष्ट्रपति सिले उक्त दिवसमा सहभागी भएकोमा बान कि मुनको स्वागत गर्नुभएको थियो ।
भेटका क्रममा चिनियाँ राष्ट्रपति सिले चीनले कम्तीमा पनि तीन लाख सैनिक सङ्ख्या घटाउने प्रस्ताव अघि सारेकोले यसबाट चीन शान्तिका लागि प्रतिबद्ध भएको देखिने जानकारी गराउनुभएको थियो ।
सो घोषणा राष्ट्रपति सिले बिहीबारै गर्नुभएको थियो । सो प्रतिबद्धता आफूले महासचिव बानलाई दोहोराएको जानकारी पनि दिनुभएको समाचारमा जनाइएको छ ।
सो भेटका क्रममा राष्ट्रपति सिले दोस्रो विश्वयुद्धको एउटा सबैभन्दा ठूलो उपलब्धि भनेको संयुक्त राष्ट्रसङ्घको स्थापना हो र उक्त संस्थाको स्थापनाका लागि निर्मित बडापत्रमा हस्ताक्षर गर्ने पहिलो देश चीन हो भन्नुभयो ।