भेटमा बागलुङको प्रतिनिधिमण्डलले सीमाङ्कनमा बागलुङलाई प्रदेश नं ४ मा अविभाजित रुपमा राख्नुपर्ने तथा सल्यान प्रतिनिधिमण्डलले ६ नं मा राखिएको सल्यानलाई यथावत् राख्न र सो सम्बन्धमा संविधानसभामा संशोधन प्रस्ताव नल्याउन माग गरेका थिए ।
दुवै प्रतिनिधिमण्डललाई संयुक्त रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले लोकतान्त्रिक शासन पद्धतिका माध्यमबाट नेपालमा शान्ति, स्थायित्व र विकास ल्याउनका लागि यो अन्तिम अवसर भएकाले यसलाई सदुपयोग गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । “यो अन्तिम अवसर हो” प्रधानमन्त्रीले भन्नुभयो, “शान्ति नभए देश रहँदैन, देशलाई जोगाउन सहयोग गर्नुहोस् ।”
उहाँले देशमा लोकतान्त्रिक शासन व्यवस्था शान्ति र स्थायित्वको अभावमा आर्थिक सामाजिक विकास अवरुद्ध भएकाले ४०÷४५ लाख युवा रोजगारीको खोजीमा बिदेसिएको प्रसङ्ग उठाउँदै भन्नुभयो, “देशलाई प्रकृतिले जुन देन दिएको छ, दिगो शान्ति र राजनीतिक स्थायित्व भएमा मात्र त्यसको सदुपयोग गर्ने वातावरण बन्छ ।”
सो भेटमा नेकपा(एमाले)का नेता माधवकुमार नेपाल र एकीकृत नेकपा (माओवादी)का नेता डा बाबुराम भट्टराईको पनि सहभागिता रहेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताउनुभयो ।