जनकपुरधाम, २० भदौ । धार्मिक पर्यटन क्षेत्रको एक प्रमुख गन्तव्य स्थलका रुपमा स्थापित भएको जनकपुरधाम लगायतका पर्यटन क्षेत्र लगातारको बन्दको कारण धराशायी हँुदै गएको छ ।
प्रदेश र सीमाङ्कनको माग गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लगायतकाले आह्वान गरेको अनिश्चितकालीन आमहडतालका कारण यहाँको जनजीवन आज २३औँ दिन पनि कष्टकर बनेको छ । बन्द र हडतालका कारण राजर्षि जनकको प्राचीन मिथिला राज्यको राजधानी, भगवान् रामको ससुराली र आदर्श नारी सीताको माइती जनकपुरको पर्यटन क्षेत्रसमेत प्रभावित भएको छ ।
विवाह पञ्चमी, रामनवमी, जानकी नवमी, छठ, डोला, परिक्रमा क्षेत्र जस्ता धार्मिक गतिविधिले वार्षिक एक लाखभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकलाई आफूतिर आकर्षित गरेको थियो । जनकपुर बजार क्षेत्रमा करिब ठुला साना गरी तीन सयको हराहारीमा होटल रहेका छन् ।
ती होटलमा रु दुई अर्बभन्दा बढीको लगानी गरिएको छ । पर्यटकको आगमनले दैनिक रु तीन लाखभन्दा बढी होटलको कारोबार हुने गरेकामा अहिले बन्द र हडतालको कारण यो व्यवसाय प्रभावित भएको होटल व्यवसायी महासङ्घका केन्द्रीय सदस्य विजय झुनझुनवालाले बताउनुभयो ।
भारतीय पर्यटक ५० प्रतिशत, चिनियाँ पर्यटक ३३ प्रतिशत र बाकी जर्मनी, जापान, युरोपबाट पर्यटक आउने गरे पनि बन्द र हडतालको कारण ती पर्यटक आउन नसक्दा होटलमा गरेको लगानी जोखिममा पर्न गएको व्यवसायीको भनाइ छ ।
बन्द हडतालको कारण करिब तीन हजार पाँच सय कामदार अन्यत्र पलायन भएका छन् भने यस्तै स्थिति रहेमा बाहिरबाट आउने पर्यटकमा समेत नकारात्मक प्रभाव पर्ने व्यवसायी बताउँछन् ।
लामो समयसम्म भएको बन्द र हडतालको कारण पर्यटकमा नकारात्मक सन्देश गइरहेको भन्दै जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवशङ्कर साह हिराले भन्नुभयो–“दैनिक करोडौँ रुपैयाँको घाटा भइरहेको छ र यस्तो स्थितिमा राज्यपक्ष गम्भीर हुनुपर्दछ । तराईका २२ जिल्लामध्ये आर्थिक दृष्टिकोणले दोस्रो स्थान रहेको जनकपुरमा पर्यटन क्षेत्र प्रभावित हुनु भनेको आर्थिक सङ्कट झेल्नु हो” उहाँले भन्नुभयो ।
बृहत्, विष्णु पुराण, वायुपुराण, शतपथ, भागवत, वाल्मीकि रामायण, बृहदारण्यकोषनिसजस्ता धार्मिक ग्रन्थमा पुण्यभूमि, तपोभूमि र सर्वश्रेष्ठ तीर्थका रुपमा उल्लेख गरिएकाले पनि गङ्गा आरतीको धार्मिक महत्व बढ्न गएको छ । यतिमात्र नभएर गङ्गाको पूजा गर्दा हरेक प्रकारको विग्नबाधा सङ्कटबाट मुक्ति पाइन्छ भने सुख शान्ति प्राप्त हुने जलको संरक्षण सफाइ र यसको शुद्धता हुने भएकाले यसको धार्मिक र वैज्ञानिक महत्व दुवै रहेको छ ।
जैनहरुको २४औँ तिर्थाकरको जन्म यही भएको थियो । अन्तिम तिर्थाकर महावीर एउटा गणधर यहीका थिए । महावीर स्वयम्ले पनि यहाँ छ वर्षसम्म जुटाएको पुरानमा उल्लेख गरिएको छ । बौद्ध १५औँ जातकमा जनकपुरको वर्णन गरिएको छ ।
विभिन्न प्रकरणमा स्वयम् भगवान् श्रीकृष्ण यहाँ तीन पटक आएको महाभारतमा उल्लेख छ । सुफी सन्तहरुको पवित्र कर्म क्षेत्र रहेको आधारमा मुस्लिम धर्मावलम्बीका लागि पनि जनकपुर परम पावन क्षेत्र मानिन्छ ।
जनकपुरमा सामान्यतया सेप्टेम्बरदेखि डिसेम्बरसम्मको मौसम सबभन्दा अनुकूल र उत्तम भएकाले यही समयमा मिथिलाका सबै चाडपर्व पर्ने हुँदा यहाँ आउने पर्यटक अन्य धार्मिकस्थलको दर्शनसँगै महागङ्गा आरतीमा सहभागी भई धार्मिक लाभ लिने गरेका छन् ।
राजनीतिक हठ र जिद्दीको कारण प्रभावित भइरहेको पर्यटन क्षेत्रलाई सरकारले निषेधित क्षेत्रको रुपमा राख्नुपर्ने माग होटल व्यवसायीको रहेको छ ।