लन्डन । बेलायतमा ‘महिलाद्वारा महिला’ का लागि गठित ‘एजियन महिला एसोसिएसन’ (आमा) यूकेले आगामी १२ सेप्टेम्बर शनिवार तीज विशेष कार्यक्रम गर्ने भएको छ । उसको सबैभन्दा वृहत वार्षिक कार्यक्रम अन्तर्गत सामुयल कोडी स्पार्टस् कलेज हल, फार्नबोरोमा तीज हुन लागेको हो । तीजमा वर्षेनी दुई हजार हाराहारी महिला सहभागी हुने गर्छन् ।
उक्त अवसरमा संस्थाले तीन पुस्ताबीच ‘वेष्ट डान्सर’ समेत छान्ने भएको छ । दिउसो २ देखि राती ९ बजेसम्म हुने कार्यक्रममा सहभागी मध्येबाट वेष्ट डान्सर हजुरआमा, वेष्ट डान्सर आमा र वेष्ट डान्सर छोरी क्याटेगोरिजमा पुरस्कृत गर्न लागिएको महासचिव विभा गुरुङले जनाइन् । यस पटक आमाले राफल चिट्ठामा प्रथम हुनेलाई सुनको सिक्का उपहार दिने भएको छ ।
महिला सशक्तिकरणका लागि सन् २००६ मा स्थापित आमाले विभिन्न कालखण्डमा नेपालमा आर्थिक सहयोग गरेको छ । संस्थाले सन् २०१० मा माइती नेपाललाई ७० हजार रुपैयां, सन् २०१४ मा बाढी पीडितका लागि बीएफबीएस् गोर्खा रेडियो नेपाल मार्फत एक लाख रुपैयां र गत वर्ष एनआरएनए यूके मार्फत वृद्धाश्रमका लागि २२० पाउण्ड सहयोग प्रदान गरेको थियो ।
आमाले पहिलो पटक यसै वर्ष ‘वुमेन्स् डे’ गरि आर्थिक संकलन गरेको थियो । संकलित रकम मध्येबाट रक्षा नेपाल र ब्लड क्यान्सर पीडित अन्जु कार्कीलाई सहयोग प्रदान गरिएको छ । आमाले यही साल रेस फर लाइफमा सहभागी भएर ९६५ पाउण्ड ५० पेन्स् संकलन गरेकामा ५०० पाउण्ड क्यान्सर रिसर्चलाई दिइसकेको छ भने बांकी रकमसहित यही शनिवार हुने तीज कार्यक्रममा राफलबाट उठ्ने पैसा च्यारिटीमै खर्च गर्ने संस्थाको योजना छ ।
संस्थाले शिव कल्चर, साइ सेन्टर र बुद्धिष्ट कम्युनिटी सेन्टरलाई समेत सहयोग गरेको छ ।