काठमाडौँ, २३ भदौ । गृह मन्त्रालयले संयुक्त मधेसी मोर्चाको नेतृत्वमा भइरहेको आन्दोलनमा प्रहरीले आत्मरक्षा र उग्र स्थितिलाई नियन्त्रण गर्न बल प्रयोग गर्नुपरेको जनाएको छ ।
प्रान्तीय सीमाङ्कनको विषयलाई लिएर तराई मधेसमा जारी आन्दोलनमा स्थिति असहज भएपछि प्रहरीद्वारा चलाइएको गोली लागेर आज चारजना प्रदर्शनकारीको मृत्यु भएको घटनाबारे प्रस्ट पार्दै मन्त्रालयले सो कुरा जनाएको हो ।
मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालद्वारा आज साँझ जारी विज्ञप्तिमा प्रदर्शनकारीले पूर्व पश्चिम राजमार्ग खण्डमा रुख ढाल्ने, ढुङ्गामुढा थुपारेर सडक अवरुद्ध गर्ने र प्रहरीमाथि ढुङ्गा प्रहार गरी स्थितिलाई तनावपूर्ण बनाएको उल्लेख छ ।
“तनावपूर्ण स्थितिमा प्रहरीले आत्मरक्षा र उग्र स्थितिलाई नियन्त्रणमा राख्न बाध्य भई बल प्रयोग गर्दा पोर्ताहा–१ बस्ने रामकृष्ण राउतको मृत्यु हुन गएको छ” – विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा महोत्तरीमा मधेसी मोर्चाका अराजक, उत्तेजक र नेतृत्वविहीन बन्दकर्ताले जिल्ला न्यायाधीशको निवासमा आगजनी तथा जिल्ला प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेको गरेको जनाइएको छ । स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गर्दा तीनजनाको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको मन्त्रालयले बताएको छ ।
विराटनगर रानीस्थित सीमावर्ती भन्सार कार्यालय नजिकको प्रहरी बिटमा बन्दकर्ताले तोडफोड गर्न खोजेको र पाँचजना सुरक्षाकर्मीमाथि पेट्रोल छर्की आगो लगाउन खोज्दा सुरक्षाकर्मीले बल प्रयोग गर्नुपरेको मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार महोत्तरी सदरमुकाम क्षेत्रमा स्थानीय प्रशासनले बेलुकी ८ बजेदेखि निषेधाज्ञा (कफ्र्यु) जारी गरेको छ । साथै, आन्दोलनका क्रममा घाइते भएकालाई थप उपचारका लागि काठमाडौँ ल्याउन हेलिकप्टर त्यसतर्फ पठाइएको मन्त्रालयले जानकारी दिएको छ ।