रामपुर (पाल्पा), २४ भदौ । पाल्पा बौघागुम्हा– ३ छेर्लुङकी ५० वर्षीया दिव्याकुमारी दर्जीको हत्या भएको छ । उनको शव घरभित्रै जलाइएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घरभित्रै दिव्या मृत अवस्थामा बुधबार बेलुका करिब ७ बजे फेला परेको स्थानीयवासीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमल्सिनाले मृतकको शरीर जलेको बताउनुभयो । घटनास्थलमा रगतका छिटा भेटिएका छन् । मृत्यु शङ्कास्पद रहेकाले अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका डा झपेन्द्र ढकालसहित चिकित्सक टोली घटनास्थल पुगेको छ ।
दर्जीका पति एक वर्ष पहिले गाउँकै खेतमा मृत फेला परेका थिए । दुई छोरीको बिहे भइसकेको र पतिको निधन भएपछि दिव्या घरमा एक्लै बस्दै आएकी थिइन् ।