काठमाडौँ, २५ भदौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सदस्य सचिव नियुक्ति गर्दा पदीय मर्यादा भुलेको भन्दै युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारलाई निर्देशन दिएको छ ।
मन्त्री पौडेलले सदस्यसचिव नियुक्ति र राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदा पदीय दायित्व पूरा नगरेको आयोगको ठहर छ ।
आयोगले मन्त्री पौडेलले अनुचित काम गरेकाले कारबाही हुनुपर्ने जनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको अख्तियारद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । “आफ्नो पदको प्रकृतिअनुसार पालना गर्नुपर्ने पदीय कर्तव्यपालना ऐन अनुचित कार्य नगरेको पुष्टि भएकाले मन्त्री पुरुषोत्तम पौडेललाई आवश्यक कारबाहीका लागि प्रधानमन्त्रीलाई लेखी पठाइएको छ”, विज्ञप्तिमा भनिएको छ ।
मन्त्री पौडेलले राखेपको सदस्यसचिवमा केशवकुमार विष्टलाई गत असार १० गते नियुक्त गर्नुभएको थियो ।
करिब एक वर्षअघि दक्षिण कोरियाको इचोनमा सम्पन्न १७ औँ एसियाली खेलकुद प्रतियोगितामा खेलाडीको आवरणमा चार व्यक्तिलाई पैसा खाएर उतै भगाएको आरोप सदस्यसचिव विष्टलाई लागेको छ ।