काठमाडौँ, ३० भदौ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)सहित तीन मधेसी दल संविधानसभामा फर्कन लचिलो भएका छन् ।
विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकसहितका तीन दलले यही भदौ १९ गते सङ्घीय लोकतान्त्रिक मोर्चा गठन गरी संविधानसभा बहिष्कार गरेका थिए । मोर्चामा रहेका राष्ट्रिय मधेस समाजवादी, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक) प्रमुख तीन दलसँग सकारात्मक कुराकानी भएको र यसले वार्ताको वातावरण सिर्जना हुने जनाएको हो ।
लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले निकासका लागि प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) का शीर्ष नेतासँग निरन्तर कुराकानी भइरहेको रासससँगलाई बताउनुभयो ।
“प्रमुख तीन दलका शीर्ष नेतासँग हिजो र आज पनि कुरा भएको छ, हाम्रा चारबुँदे माग कार्यान्वयन भए संविधानसभामा फर्कने अवस्था आउँछ,”–उहाँले भन्नुभयो ।
फोरम लोकतान्त्रिकको मागप्रति तीन दलले छलफल गरी प्रतिक्रिया दिने जनाएको महासचिव चौधरीले बताउनुभयो । चारबुँदे मागमा सङ्घीयताको सीमाङ्कनमा फेरबदल गरिनुपर्ने, समानुपातिक समावेशी सिद्धान्तको प्रत्याभूत हुनुपर्ने, अन्तरिम संविधानअनुसार निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने र स्थानीय भाषालाई राष्ट्रिय भाषाको रुपमा मान्यता दिइनुपर्ने छ ।
उक्त माग सम्बोधनका लागि जारी प्रक्रियामा संविधानसभा–व्यवस्थापिका–संसद् कार्यसञ्चालन नियमावली, २०७० मा संशोधन गरेर प्रस्ताव ल्याउन सकिने मोर्चाको आग्रह छ ।