बन्द हडताल र निषेधाज्ञाका कारण ढुवानीका साधनहरु सञ्चालनमा नआएकाले भारत तथा तेस्रो मुलुकबाट आयात गरिएको मालसामान ढुवानी हुन नसकि भन्सारमै थन्किएका कारण राजस्व अवरुद्ध भएको हो ।
भन्सार विभागले ड्राइपोर्ट भन्सार कार्यालयलाई भदौ महिनामा रु एक अर्ब ५२ करोड १३ लाख ३३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिए पनि भदौ २८ गते सम्ममा लक्ष्यको ४५ प्रतिशत अर्थात रु ६९ करोड ३७ लाख ५२ हजार मात्र सङ्कलन गरेको छ ।
बन्द हडताल र निषेधाज्ञाकै कारण भदौ महिनामा १० दिन भन्सार कार्यालयको राजस्व सङ्कलन शून्य भएको सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख देवीप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँले भदौ ३, ४, ५, ८, १५, १६, १७, १८, २० र २१ गते गरी १० दिन एक रुपैयाँ पनि राजस्व सङ्कलन नभएको बताउनुभयो ।
ढुवानीका साधनहरु बन्द रहेकाले कोलकत्ता बन्दरगाह र भारतका विभिन्न सहरबाट ड्राइपोर्टमा आएका झन्डै ७० हजार मेट्रिक टन सामान थन्किएको छ । नेपालकै एकमात्र रेल सेवा सुविधा सम्पन्न सिर्सिया सुख्खा बन्दरगाहमा मालसामान भण्डारणका लागि ठूला दुई र साना तीन गरी पाँच वटा गोदाम छन् ।
बन्द हडतालका कारण ढुवानी गर्ने साधन नचलेका कारण पाँच वटै गोदाम आयात भएका सामानले भरिएका छन् । गोदाम भरिएपछि आयात भएका सामानहरु खुल्ला स्थानमा भण्डारण गरिएका छन् ।