काठमाडौँ, ३१ भदौ । नेकपा (एमाले)ले नेपालको संविधान, २०७२ जारी भएपछि आगामी असोज ५ गते चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
एमाले महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले नेपालको संविधान जारी भएको ऐतिहासिक अवसरमा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पार्टीका तर्फबाट चियापान कार्यक्रम आयोजना गर्ने निर्णय भएको हो ।
सो दिन अपराह्न १ देखि ५ बजेसम्म चल्ने चियापान कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका नेता, कार्यकर्ता, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधि, कलाकार, पत्रकार, कानुनी व्यवसायी, शिक्षक, प्राध्यापक, उद्यमी व्यवसायी, श्रमिक पेसाकर्मी, खेलाडी, निजामती तथा जङ्गी सेवाका अधिकारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवालगायत उपत्यकावासी जनसमुदायलाई अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट निमन्त्रणा गरिएको छ ।
चियापान कार्यक्रम व्यवस्थित गर्न पार्टी सचिव तथा केन्द्रीय प्रचार विभागका प्रमुख योगेश भट्टराईको संयोजकत्वमा आर्थिक विभाग प्रमुख विष्णु रिमाल र कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ रहनुभएको तीन सदस्यीय व्यवस्थापन कमिटी पनि गठन गरिएको छ ।
संविधान जारी हुने दिन आगामी असोज ३ गते देश–विदेशमा साँझ दीपावली गर्न र असोज ४ गते संविधानको स्वागतमा उत्सव मनाउन स्थानीय विशिष्टताअनुरुपका रचनात्मक कार्यक्रम आयोजना गर्न एमालेले सबै कमिटी र सङ्गठनलाई आह्वान गरिसकेको प्रचार विभागका प्रमुख भट्टराईले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।