काठमाडौँ, १ असोज । जनताका प्रतिनिधिले संविधान बनाएको क्षण कुनै पनि मुलुकका लागि ऐतिहासिक त अवश्य हो, त्यसमा प्रत्यक्ष सहभागी सभासद्का लागि पनि दुर्लभ अनुभव हुनु स्वाभाविक हो ।
संविधानसभाबाट पारित ‘नेपालको संविधान, २०७२’ मा सभासद्ले हस्ताक्षर गर्नेक्रम चलेदेखि नै संविधानसभा भवन नयाँ बानेश्वरमा आज उत्साहपूर्ण माहोल देखियो । चहलपहल र हाउभाउका साथ सभासद्, संसद् सचिवालयका कर्मचारी र सञ्चारकर्मीसहितको उपस्थितिले सभा भवनको ‘ल्होत्से हल’ भरिएको थियो ।
आफूले हस्ताक्षर गरेको दृष्य क्यामरामा कैद गर्न, समूह समूहका तस्बिर खिचाउँन, आपसमा हात मिलाउन, अँगालो मार्न र बधाई साटासाट गर्न सभासद्लाई भ्याइनभ्याई थियो । सभाध्यक्ष सुवास नेम्वाङ, उपाध्यक्ष ओनसरी घर्ती तथा शीर्ष नेतासँग तस्बिर खिचाउँन पनि तँछाडमछाड थियो ।
उत्साहको माहोलमा सचिवालयका कर्मचारीले पनि आफ्ना मोबाइलबाट तस्बिर खिचाउने क्रम चलेपछि सचिवालयमा सचिव मुकुन्दप्रसाद शर्माले माइकबाट ध्यानाकर्षण नै गराउनुपरेको थियो, “सचिवालयका साथीहरू, प्रत्यक्ष प्रसारण पनि भइरहेको छ, तपाईंहरूले फोटो खिच्ने काम गरिरहँदा शोभनीय भएन ।”
सुरक्षा निकायका कर्मचारी (मर्यादापालक) पनि तस्बिर खिचाउन लागिपरेका थिए । हस्ताक्षरपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सभासद् चित्रबहादुर केसीसँग तस्बिर खिच्न अनुमति माग्दा केसीले सहज जवाफ दिनुभयो – “आउनुस्, आउनुस्, गाई दुहुनेलाई गोबर त के भो र ?, यत्रो समय सभा र हाम्रो सुरक्षा दिनुभयो, आज तस्बिर खिच्न किन नपाउने ?”
हस्ताक्षर गर्ने लहरमा सभासद् जीवनबहादुर शाही, गङ्गालाल तुलाधर, रामेश्वर फुयाँल, जितु गौतम, महेन्द्र यादवलगायत सभासद् आफूहरु पहिलो भएकोमा गर्व गर्दै हुनुहुन्थ्यो । त्यही बीचमा मिर्गाैलापीडित सभासद् मेघराज नेपाली (निषाद) डायलाइसिस छाडेर हस्ताक्षर कार्यक्रममा प्रवेश गरेपछि एकछिन हलमा भावुकता छायो । उहाँको स्वास्थ्य बुझ्न सभाध्यक्ष नेम्वाङ आसनबाट उठेर भन्दै हुनुहुन्थ्यो – “अहिले कस्तो छ, माननीयज्यू ?”
हस्ताक्षर भइरहँदा हलमा राष्ट्रियताले ओतप्रोत धुन र गीतलाई निरन्तर गुञ्जाइएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरे, गीतकार दिनेश अधिकारीजस्ता स्रष्टाका शब्द र गोपाल योञ्जन जस्ता लोकप्रिय गायकका स्वरअङ्कित ‘गाउँछ गीत नेपाली, ज्योतिको पङ्ख उचाली…’, ‘नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे…’, ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ, आँधी आए तराईमा पहाडले छेक्नुपर्छ….’ जस्ता गीत निरन्तर बजिरहेका थिए । यही असोज ३ गते संविधान घोषणाका लागि तय गरिएको संविधानसभाको बैठकमा पनि अन्य सजावटसँगै यी र यस्तै गीत र धुन बजाउने र ऐतिहासिक राष्ट्रिय उत्सवको झल्को दिने तयारी सचिवालयले गरेको छ ।
नेपाली कागजमा मुद्रण गरिएका पाँचप्रति संविधानमा आज हस्ताक्षर भएको हो । हस्ताक्षर क्रम सकिएपछि सभाध्यक्ष नेम्वाङले प्रमाणीकरण गर्ने कार्यक्रम छ ।
हस्ताक्षर भएका ती पाँचप्रतिमध्ये राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मन्त्रालयमा एक÷एक प्रति र संसद् सचिवालयमा दुई प्रति अभिलेखका रुपमा रहनेछन् ।
संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले घोषणा सभाका लागि मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, नागरिक समाजका प्रतिनिधिलगायतलाई आमन्त्रण भइसकेको बताउनुभयो ।
कुल १० वटा डेस्कमा सभासद्हरुको वर्णानुक्रमअनुसार संविधानका अनुसूचीअन्तर्गत राखिएका सभासद्को नामावलीको सूचीमा हस्ताक्षर गरिएको छ । हस्ताक्षरका क्रममा देखिएको उत्साहका बीच सभासद्हरूले तराई–मधेसमा भइरहेको आन्दोलनको मागलाई समेट्न नसकिएकोमा केही खल्लोपना पनि सभासद्मा देखिएको थियो ।
सभासद् रञ्जुकुमारी झाले भन्नुभयो – “तराईका कतिपय व्यक्तिले हामीले संविधानमा हस्ताक्षर गरेको भनेर गाली गरिरहेका छन्, हामीलाई पनि पार्टीको निर्देशन हुन्छ, त्यो मान्नै प¥यो, अब यो उपलब्धि लिएर मधेसका अन्य आवाज सम्बोधनका लागि लाग्नुपर्छ ।”