काठमाडौँ, ३ असोज । विभिन्न राजनीतिक दलका नेताहरूले आज जारी भएको संविधानले नेपाली जनतालाई पूर्णरुपमा सार्वभौमसत्ता सम्पन्न बनाएको धारणा राख्नुभएको छ ।
संविधान जारी भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया व्यक्त गर्दै उहाँहरुले नेपाली जनताको छ दशकभन्दा बढीको सङ्घर्षले आज सफलता प्राप्त गरेको बताउनुभयो ।
एनेकपा (माओवादी) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ संविधानसँगै नेपाली जनता पूर्णरुपमा सार्वभौमसत्ता सम्पन्न बनेको बताउनुभयो ।
उहाँले तराई मधेस, थरुहटलगायतका माग सम्बोधन नहुँदा त्यहाँका जनता अहिले पनि आन्दोलनमा रहेका कारण पूर्णरुपमा खुसी हुन भने नसकेको बताउनुभयो ।
फेरी पनि ती सबैलाई सहमतिमा ल्याउनुपर्ने धारणा राख्दै त्यसपछि मात्र पूर्णरुपमा खुसीयालीका साथ दीपावली गर्ने अवस्था सिर्जना हुने बताउनुभयो ।
नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान देशको महत्वपूर्ण उपलब्धि भएको बताउँदै यसले नेपाली जनतालाई सर्वभौमसत्ता सम्पन्न बनाएको बताउनुभयो ।
असन्तुष्टि राखेका दललाई पनि वार्ताका माध्यमबाट समस्याको समाधान गर्न सकिने उहाँले बताउनुभयो ।
एनेकपा (माअोवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यो उपलब्धिलाई सबैले मिलेर कार्यान्वयनमा लैजानुपर्ने धारणा राख्नुभयो ।
नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले संविधानसभाबाट संविधान बनाउने नेपाली जनताको लामो समयदेखिको चाहना आज पूरा भएको बताउनुभयो ।
एनेकपा (माओवादी) का नेता जनार्दन शर्माले संविधान बन्नु नेपाली जनताको महत्वपूर्ण विजय भएको बताउँदै बाँकी असन्तुष्टिलाई सम्बोधन गर्दै देश निर्माणमा एकतावद्ध प्रयास गर्नुपर्ने बताउनुभयो ।