काठमाडौँ, ३ असोज । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसारभरिका नेपालीका लागि आज सबैभन्दा खुशीको दिन भएको बताउनुभएको छ ।
संविधानसभाबाट संविधान जारी भएपछि पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले आफ्ना प्रतिनिधिमार्फत संविधान बनाउने नेपाली जनताको सपना आज पूरा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“संविधानसभाबाट अत्याधिक बहुमतले संविधान पारित भएको छ । संविधानसभाका सबै औपचारिक कदमलाई पूरा भएको छ । अन्ततः राष्ट्रपतिबाट संविधान घोषणा भएको छ ।”
अध्यक्ष ओलीले अत्यन्तै उन्नत लोकतान्त्रिक विधिबाट तयार गरिएको जनताको संविधानप्रति सबै नेपालीले खुशी मनाउनुपर्ने बताउनुभयो ।
समावेशी समानुपातिक सहभागिताबाट अत्यन्त समूचित प्रतिनिधित्व भएको संविधानसभाले अन्यन्त लोकतान्त्रिक विधि र प्रक्रियाबाट संविधान जारी भएको दाबी गर्दै उहाँले भन्नुभयो, “यो धेरै ठूलो उपलब्धि हो । नेपाललाई सङ्क्रमणकालबाट अगाडि बढाएको छ । अस्थिरताबाट अगाडि बढाएको छ ।”
संविधानका विशेषता अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “यो संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको छ । सात प्रदेशको सङ्घीयता संविधानमा सुनिश्चित गरिएको छ । गणतन्त्रलाई संस्थागत गरिएको छ । कुनै पनि सामन्ती तथा निरङ्कुश र आधारहीन तथा तर्कहीन सिद्धान्तबाट नभई राष्ट्रको सार्वभौमसत्ता जनतामा हुने व्यवस्था गरेको छ ।”
उहाँले हिमाल, पहाड, तराई र पूर्व–पश्चिम सबै स्थानमा बस्ने, सबै पेसा व्यवसायका जनताका हकअधिकार यस संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै विभिन्न तप्काका महिला, मधेसी, जनजाति, आदिवासी, थारु सबैका सन्दर्भमा आवश्यक व्यवस्था गर्नका निम्ति आयोग गठन गरेको बताउनुभयो ।
लोकतान्त्रिक एवम् बहुदलीय प्रणालीमा सर्बसहमति हुन्छ भन्न सकिदैन भन्दै उहाँले अत्याधिक बहुमतले भनेका कुरा हुनु हुँदैन भन्न हुँदैन त्यसमा सहमति जनाउनुपर्ने बताउनुभयो । अध्यक्ष ओली जनताको संविधान जारी हुँदा दुःख मान्नुपर्ने र यसमा कुनै असहिष्णुता जनाउनुपर्ने कुनै कारण नभएकाले भावनामा नजान आग्रह गर्नुभयो ।
उहाँले राजनीतिको मूलधारमा फर्कन सबैलाई आग्रह गनुभयो । आन्दोनलमा रहेका दलहरुको मागका सन्दर्भमा छलफल हुन सक्ने बताउँदै अध्यक्ष ओलीले उनीहरुको माग के हुन् भन्ने स्पष्ट हुनुपर्ने बताउनुभयो ।