काठमाडौँ, ४ असोज । नेपालको संविधान, २०७२ प्रारम्भ भएको खुसियालीमा नेपाल सरकारको आयोजना र प्रमुख तीन दलको संयोजनमा सैनिक मञ्च टुँडिखेलमा अहिले विजयोत्सव सभा सुरु भएको छ ।
सभामा प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेताहरु सहभागी हुनुभएको छ ।
संविधानको स्वागतमा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । विभिन्न समुदायले आफ्नै परम्परागत वेशभूषामा सभास्थलमा खुसी व्यक्त गरिरहेका छन् ।
सभाको सुरुमा राष्ट्रिय गान प्रस्तुत गरिएको थियो भने विभिन्न आन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएका सहिदको सम्मानमा दुई मिनेट मौनधारण गरिएको थियो ।
कार्यक्रमको सञ्चालन गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जनताका प्रतिनिधिले संविधान जारी भएको ऐतिहासिक दिनसम्म आइपुग्दा विभिन्न कालखण्डमा प्रजातान्त्रिक आन्दोलनका लागि योगदान गर्नुहुने बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र मदन भण्डारीको स्मरण गर्नुभयो ।
उहाँले संविधान जारी भएकामा छिमेकीलगायत विश्वका विभिन्न मुलुकबाट स्वागत र समर्थन व्यक्त गरिएको जानकारी दिँदै अब मुलुकको समृद्धिका लागि सबै एक भई लाग्नुपर्ने बताउनुभयो ।
प्रमुख दलका शीर्ष नेताले हात हल्लाएर सुरु भएको समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विशेष झाँकी प्रदर्शन गरेका थिए ।
विभिन्न सङ्घसंस्था, उद्योगी, व्यवसायी, नागरिक समाजका अगुवा तथा विभिन्न पेसागत सङ्घ तथा संस्थाहरु स्वतःस्फूर्त ¥यालीसहित सभामा सहभागी हुनआएका थिए ।
विशेष स्वागत समारोहमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, प्रमुख दलका अन्य नेताको पनि सहभागिता रहेको छ ।
समारोहमा नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदी, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्त, नागरिक क्षेत्रका प्रतिनिधि र जनसमुदायको सहभागिता छ ।
नेपालका केही ऐतिहासिक तथा राष्ट्रिय महत्वका कार्यक्रमहरुमध्ये आजको पनि एक हो । एक युगमा एकपटक आएको र नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत निर्माण गरेको संविधान आइतबारदेखि प्रारम्भ भएको थियो । संविधानसभाको आइतबारको बैठकमा राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधान, २०७२ प्रारम्भ भएको घोषणा गर्नुभएको थियो ।