काठमाडौँ, ४ असोज । नेकपा (एमाले) ले संविधानमा असहमत पक्षलाई लोकतान्त्रिक प्रक्रियामा फर्कन र राष्ट्रिय एकताको पक्षमा उभिन आग्रह गरेको छ ।
पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले हस्ताक्षर गरी आज जारी गर्नु भएको प्रेस विज्ञप्तिमा नेपालका शोषित, उत्पीडित जनताले आधा शताब्दीभन्दा लामो सङ्घर्ष र बलिदानबाट प्राप्त संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई वैधानिक रुपले संस्थागत गर्ने भनिएको छ ।
नेपाली समाज बहुलवादी र खुला समाज भएको र विचारको विविधतालाई संविधानले नै स्वीकार गरेको हुँदा लोकतान्त्रिक विधिमा विश्वास गर्न असन्तुष्ट पक्षलाई आग्रह गर्दै विरोधका नाममा हुने अराजकता र हिंसालाई अब नेपाली समाजले स्वीकार गर्न नसक्ने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा संविधान घोषणा भएको खुसियालीमा भोलि असोज ५ गते अपराह्न १ देखि ५ बजेसम्म काठमाडौँको दशरथ रङ्गशालामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आयोजना गर्नु हुने चियापानमा सहभागी हुन सांसद, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीसहित सर्वसाधारणलाई आग्रह गरिएको छ ।