काठमाडौँ, ४ असोज । युगीन परिवर्तन ढोका खुला गरेको नयाँ संविधान जारी भएको उपलक्ष्यमा राष्ट्रपतिदेखि सर्वसाधारण नागरिकले शुभकामना आदानप्रदान गर्नुभयो ।
प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी भएको ऐतिहासिक अवसरमा सिंहदरबारको ग्यालरी बैठकको प्राङ्गणमा आज आयोजना गर्नुभएको जलपान समारोहमा एकआपसमा शुभकामना प्रदान गर्दै एकआपसमा खुसी आदानप्रदान गर्नुभएको थियो ।
राष्ट्रपति डा यादवले आइतबार साँझ संविधानसभाको भव्य समारोहमा संविधानको घोषणा गर्नुभएको थियो । जलपान समारोहमा राष्ट्रपति डा यादव, नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका कोइराला, एकीकृत नेकपा (एमाले)का अध्यक्ष केपी ओली, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललगायतले एकआपसमा शुभकामना आदानप्रदान साटासाट गर्नुभएको थियो ।
प्रधानमन्त्री कोइराला एवम् मुख्य सचिव डा सोमलाल सुवेदीले राष्ट्रपति डा यादव चियापान स्थलमा पुग्नुहुँदा स्वागत गर्नुभएको थियो ।
समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख सुवास नेम्वाङ, मन्त्रिगण, सांसद, राजनीतिक दलका नेता, नेपाल सरकारका विशिष्ट कर्मचारी, पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, कलाकार, सञ्चारकर्मी, उद्योगपति, कानुन व्यवसायी लगायतको सहभागिता थियो ।