काठमाडौँ, ६ असोज । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले संयुक्त राष्ट्र सङ्घको ७० औँ महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहँदा छिमेकी एवम् मित्र राष्ट्रका समकक्षीसँग नेपालको समसामियक राजनीतिक र आपसी हित र चासोका बारेमा छलफल हुने बताउनुभएको छ ।
महासभामा भाग लिन न्युयोर्क प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उहाँले संविधान जारी गरेलगत्तै सम्पन्न गर्नुपर्ने कतिपय महत्वपूर्ण कार्य तथा सङ्घीय प्रदेशको सीमाङ्कनका विषयमा आन्दोलनरत दलसँगको वार्तालाई गम्भीरताका साथ लिँदै प्रधानमन्त्री महासभामा जाने कार्यक्रम स्थगन गर्नुभएको जानकारी दिनुभयो ।
मन्त्री पाण्डेले भन्नुभयो, “संविधानसभाबाट संविधान जारी भएर कार्यान्वयन सुरु भएको छ, सीमाङ्कनको विषयलाई लिएर आन्दोलन गरिरहेका पक्षसँग वार्ता भइरहेको तथा शान्ति र विकासलाई अघि बढाउन सकेसम्म समmदारी कायम गर्नुपर्ने भएकाले राष्ट्रको सङ्कट समाधान कार्यलाई प्राथमिकता दिँदै प्रधानमन्त्रीले भ्रमण स्थगन गर्नुभएको हो ।”
महासभामा सहभागी हुने सिलसिलामा संविधान जारीपछिको विकासको मार्गचित्र तथा भूकम्पपछिको पुनःनिर्माण, आपसी हित र चासोका विषयमा छिमेकी तथा मित्र राष्ट्रका प्रतिनिधिसँग विभिन्न तहमा कुराकानी हुने मन्त्री पाण्डेले बताउनुभयो ।
राष्ट «सङ्घ स्थापनाको ७० आँै वार्षिकोत्सव र नेपाल राष्ट्र सङ्घको सदस्य भएको ६० वर्ष पुगेका बेला हुने यस पटकको महासभामा नेपालको सहभागिता महत्वपूर्ण उहाँले विश्वास व्यक्त गर्नुभयो । महासभालाई नेपाली प्रतिनिधिमण्डलको नेतृत्वले यही असोज १४ गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले जलवायु परिवर्तन, आतङ्कवाद र अल्पविकसित तथा भूपरिवेष्ठित मुलुकका समस्यालाई प्राथमिकताका साथ उठाउँदै आएको छ ।
असोज ११ देखि १८ गतेसम्म हुने राष्ट्र सङ्घको ७०औँ महासभालाई सदस्य राष्ट्रका सरकार एवम् राष्ट्र प्रमुखले सम्बोधन गर्नु हुनेछ । महासभाका क्रममा न्युयोर्कमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीको बैठकको पनि आयोजना हुनेछ ।
परराष्ट्रमन्त्रीका साथ प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा दिनेश भट्टराई, प्रधानमन्त्री कार्यालयका सचिव नारायणगोपाल मलेगो, परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागी, सहसचिव ताराप्रसाद पोखरेल र रमेशप्रसाद खनाल, उपसचिव दुर्गाप्रसाद भण्डारी, राष्ट्रिय समाचार समितिका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेतसहित पाँच सञ्चारकर्मी रहनुभएको छ ।
टोलीमा न्युयोर्कस्थित नेपाली नियोगबाट स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईसहित सात र नेपाली दूतावास वासिङ्टन डिसीबाट राजदूत डा अर्जुनकुमार कार्की सदस्यका रूपमा सहभागी हुनुहुने छ ।