क्यालिफोर्निया (अमेरिका), ८ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को असोजमा काठमाडौँमा हुन गइरहेको महाधिवेशनबाट चुनिने नयाँ कार्य समितिका लागि विश्वभरिबाट उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ ।
दश हजारभन्दा बढी सदस्य सङ्ख्या बनाएको अमेरिकाले यस पटक आफ्नो देशबाट समेत राम्रो उपस्थिति खोजेको अवस्थामा सबैभन्दा धेरै प्रतिनिधि रहेको अस्ट्रेलिया र दोस्रो अमेरिकाबीच पदका लागि प्रतिस्पर्धा हुने देखिएको छ ।
प्रमुख पदमा दुवै देशबाट उम्मेदवारी घोषणा भइसकेको छ भने अझै पनि उम्मेदवारी घोषणा हुनसक्ने अनुमान गरिएको छ । हालसम्म अमेरिकाबाट रतन झाले अध्यक्ष, खगेन्द्र जिसीले उपाध्यक्ष, राजेन्द्र शिवाकोटीले कोषाध्यक्ष, रामचन्द्र खरेल र सोनाम लामाले उत्तर अमेरिका क्षेत्रीय संयोजक, शिवकुमार राई र एसी शेर्पाले उत्तर अमेरिका क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।
अमेरिकाले सदस्य सङ्ख्याको आधारमा प्रमुख दुई पद लिन कोसिस गर्दा सहमतिको आधारमा चयन भएमा झा, जिसी र शिवाकोटीमध्ये दुईले स्थान पाउने छन् । अमेरिकाबाट उम्मेदवारी घोषणा गरिसकेका झा, जिसी, शिवाकोटी, खरेल, लामा, शेर्पा र राईले विगतमा एनआरएन र अन्य सङ्घ–संस्थामा गरेको कामका बारेमा सामान्य जानकारी यहाँ उल्लेख गरिएको छ ।
अमेरिकाको टेक्सास राज्यमा निर्माण तथा रियल स्टेट डेभलपमेन्टसम्बन्धी व्यवसाय, एनआरएनएको पूर्व महासचिव भई लामो समयदेखि एनआरएन अभियानमा सक्रियतापूर्वक लागि रहनुभएका रतन झाले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
एनआरएन अमेरिकालाई केही सदस्य सङ्ख्याबाट विश्वको सबैभन्दा बढी सदस्य भएको एनआरएन बनाउन सफल निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार, अमेरिकी भूमिमा आएर वकालत गर्ने प्रथम कानुन व्यवसायी, नेपाल सरकारका तर्फबाट वकालत गरी सरकारलाई जिताउन सफल कानुन व्यवसायी तथा समाजसेवी खगेन्द्र जिसी ‘एकपटकको नेपाली, सधैँको नेपाली’ भन्ने मूलनारालाई वास्तविकतामा परिणत गर्न कृतसङ्कल्पित रही सातौँ अन्तर्राष्ट्रिय महाधिवेशनको मूलनारा ‘एनआरएनए–पुनःनिर्माणको सच्चा साझेदार, समृद्ध नेपालको लागि सहकार्य मेरो उम्मेदवारीको आधार’ लाई यथार्थमा परिणत गर्न प्रतिबद्ध रहने उद्देश्यसहित उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेका छन् ।
एनआरएन अमेरिकाको कोषाध्यक्ष, वर्तमान आइसिसीको कार्यसमिति सदस्य, नेपालमा बैंकिङ क्षेत्रमा लामो समय काम गरेको, अमेरिकाबाट फाइनान्समा एमबिए र एकाउन्टिङमा मास्टर्स गरी क्यालिफोर्नियामा लामो समयदेखि लेखा परीक्षण तथा विभिन्न व्यापार व्यवसाय गरिरहेका शिवाकोटीले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
उत्तर अमेरिका क्षेत्रीय संयोजक पदमा अमेरिकाबाट रामचन्द्र खरेल र सोनाम लामा दुई जनाको उम्मेदवारी परेको छ । उत्तर अमेरिका क्षेत्रीय संयोजक नवराज गुरुङ निर्वाचन समितिमा बस्नुभएकाले उहाँले नउठ्ने निश्चित भएको अवस्थामा खरेल र लामाबीच प्रतिस्पर्धा हुनेछ ।
एनआरएनएको मिडिया टास्कफोर्स, एनआरएनएनसिसी अमेरिकाको मिडिया कोअर्डिनेटर, एनआरएनए आइसिसी अमेरिकाको क्षेत्रीय सहसंयोजक, २००७ देखि गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्को विधान समिति हुँदै एनआरएनए आइसिसीको वर्तमान सल्लाहकारको रूपमा कार्य गर्दै आउनुभएका रामचन्द्र खरेलले उत्तर अमेरिका क्षेत्रीय संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
मुस्ताङ समाज, हिमाली समुदायलगायत विभिन्न सङ्घ–संस्थामा सहभागी भई सामाजिक सेवामा सक्रिय, २००९ देखि दुई पटक एनआरएन आइसिसी सदस्य तथा वर्तमान क्षेत्रीय उपसंयोजक (डिआरसी) सोनाम लामाले उत्तर अमेरिका क्षेत्रीय संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
उत्तर अमेरिका क्षेत्रीय उपसंयोजक सोनाम लामाले उत्तर अमेरिका क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने घोषणा गरेको अवस्थामा एसी शेर्पा र शिवकुमार राईबीचमा उत्तर अमेरिका क्षेत्रीय उपसंयोजक पदमा प्रतिस्पर्धा हुनेछ ।
अमेरिकामा लामोसमयदेखि विभिन्न संघसंस्थामा आबध्दभई कार्य गरिरहेको, एनआरएनएनसीसी युएसए विधान मस्यौदा समिति सदस्य, कार्य समितिको महासचिव, वरिष्ठ उपाध्यक्षहुँदै अध्यक्ष भई कार्य गरिसकेको अनुभवको आधारमा उत्तर अमेरिका क्षेत्रीय उपसंयोजक पदमा शिबकुमार राईले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
वर्तमान एनआरएनआइसिसी सदस्य, कीर्तिमानी सगरमाथा आरोही, ७० राष्ट्रको पर्यटन क्षेत्रको प्रशिक्षक, सोलुखुम्बु र आसपास जिल्लाका जनतालाई लक्षित गरी सोलुखुम्बुका ३३ गाविसमा दुईवटा ठूला मेडिकल डेन्टल भिजनको निर्माण गर्न लागेका एसी शेर्पाले उत्तर अमेरिका क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।