काठमाडौँ, १० असोज । भारतले गरेको नाकाबन्दीले नेपालको अर्थतन्त्रमा सुस्तता ल्याएको अर्थविद्हरुले बताएका छन् ।
मिडिया भिजन नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले भारतले नेपाललाई गरेको व्यवहार अन्तर्राष्ट्रिय हित विपरीत भएको बताउनुभयो । उहाँले भारतले सदियौँदेखि चल्दै आएको नेपाल र भारतको सम्बन्धलाई नाकाबन्दी गरेर बिगार्न खोजेको आरोप लगाउनुभयो ।
क्षेत्रीले सीमा नाकाबन्दीले नेपालको अर्थतन्त्रमा ठूलो घाटा पुग्ने भन्दै यसो नगर्न भारत सरकारलाई आग्रह गर्नुभयो । उहाँले नेपाली एकताको भावनाका साथ अगाडि बढेमात्र यो समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पङ्गेनीले नाकाबन्दीले सामानको मूल्य बढ्ने भन्दै त्यसलाई रोक्न भारत सरकारलाई आग्रह गर्नुभयो । उहाँले भारतबाट अन्तर्राष्ट्रिय पैसा तिरेर सामान आयात गरेको भन्दै नाकाबन्दीले नेपाललाई मात्र घाटा नभएर भारतीयलाई पनि घाटा हुने बताउनुभयो । उहाँले तराईमा बन्द भए पनि बैंक सेवा सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
पङ्गेनीले उत्तरतिरबाट नाका खोलेर व्यापार गर्ने तत्काल सम्भावना नभएको भन्दै भारतसँगै सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नरहेको आँैल्याउनुभयो ।