रौतहट, १३ असोज । सरकारले वार्ताका लागि पछिल्लोपटक गरेको आग्रहबारे छलफल गर्न यहाँ आज बिहानदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले छलफल सुरु गरेको छ ।
सदरमुकाम गौरस्थित सिया प्यालेसमा बिहान ७ बजेदेखि सुरु भएको छलफलमा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष मेहन्द्रराय यादवको सहभागिता रहेको छ ।
तमलोपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री, राष्ट्रपति, तीन दलका अन्य शीर्ष नेताबीच भएको औपचारिक र अनौपचारिक वार्ताबारे मोर्चामा जानकारी गराउने बुझिएको छ ।
तीन दलको वार्ता टोली र तमलोपाका अध्यक्ष ठाकुरबीच काठमाडौँमा भएको अनौपचारिक वार्तामा तीन दलले गरेको प्रस्ताव लिएर अध्यक्ष ठाकुर गौर आइपुग्नुभएको हो ।
बैठकका लागि मोर्चाको चारैजना नेताहरु भारतीय सीमा हुँदै गौर आइपुगेको बताइएको छ ।