पर्सा, १६ असोज । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले मुलुकको जटिल अवस्थाप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।
नेपाल–भारत सिमानाको वीरगन्जस्थित दशगजा क्षेत्रमा पर्ने मितेरीपुलमा जारी धर्ना कार्यक्रममा सहभागी भएका अध्यक्ष यादवले सञ्चारकर्मीसँग कुरा गर्दै ५० दिनदेखि मधेस बन्द र दश दिनदेखि नाका ठप्प भएपनि तीन दल मुलुकको समस्या सामाधान गर्नुभन्दा सरकार निर्माणको कसरतमा लाग्नु दुर्भाग्य भएको बताए ।
उनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अनौपचारिक वार्तामा रहेको र सो वार्तालाई सार्थक निष्र्कषमा पुरयाउन राज्य पक्ष नै गम्भीर नदेखिएको बताए । अध्यक्ष यादवले संविधान संशोधनमार्फत मधेसी, मुस्लिम, थारु, जनजाति र विभेदमा पारिएका समुदायको मागलाई संविधानमा समेटेर मुलुकलाई आर्थिक उन्नतिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।