लन्डन । बेलायती दुई विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित द ब्रिटिस कलेजले काठमाण्डौंमा गरेको पहिलो दीक्षान्त समारोहमा ६३ जना विद्यार्थी दीक्षित भएका छन् ।
बेलायतको युनिभर्सिटी अफ दी बेस्ट अफ इङ्गल्यान्ड र लिड्स वेकेट युनिभर्सिटीको सम्बन्धमा सन् २०११ देखि ब्रिटिस कलेज नेपालमा सञ्चालन भएको सो कलेजको दीक्षान्त समारोहमा लिड्स वेकेट युनिभर्सिटीको पाठ्यक्रम बिएससी अनर्स कम्प्युटिङ अध्ययन गरेका १२ र युनिभर्सिटी अफ दी बेस्ट अफ इङ्गल्यान्डको पाठ्यक्रम बिबिए अध्ययन गरेका १९ तथा एमएस्सी इन्टरनेसनल म्यानेजमेन्ट अध्ययन गरेका ३२ जना विद्यार्थी दीक्षित भए ।
दीक्षान्त समारोहका प्रमुख अतिथि बेलायतका एघाराँै अर्लअफ स्यान्डबीच जोन एडवर्ड हलिस्टर मोन्टागुले स्नातकोत्तर पूरा गरेका विद्यार्थीलाई दीक्षित गरे । त्यसैगरी, बेलायतस्थित लिड्स वेकेट युनिभर्सिटीका प्रोफेसर तथा एसोसिएट डिन एन्ड्य्रु कुपरले बिएससी अनर्स कम्प्युटिङ अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेका थिए । बेलायतको युनिभर्सिटी अफ दी बेस्ट अफ इङ्गल्यान्डका बिबिए कार्यक्रम संयोजक सारा वर्डले ब्रिटिस कलेजबाट बिबिए पूरा गरेका विद्यार्थीलाई दीक्षित गराइन् ।
नेपालका लागि बेलायती राजदूत जोन रयाङ्कइनले गरिबी निवारणका लागि शिक्षा महत्वपूर्ण भएको भन्दै विद्यार्थीले हासिल गरेको ज्ञानले नेपालको अशिक्षा र गरिबी घटाउन सहयोग मिल्ने बताए ।
कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले दीक्षित भएका सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै थप सफलताको कामना गरे ।