विराटनगर, २० असोज । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुक अहिले जटिल परिस्थितिमा रहेकाले राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले सोह्रबुँदे सहमतिअनुरुप तीन दल एकै ठाउँमा नउभिए मुलुकका लागि दुर्भाग्य हुने बताए ।
मधेसवादी दल, थारु समुदायका नेता र जनजातिसँग सकारात्मक ढङ्गले वार्ता अगाडि बढिरहेको प्रसङ्ग उल्लेख गर्दै उनले छिटोभन्दा छिटो समस्याको समाधान गरिनुपर्नेमा जोड दिए ।
भारतले गरेको अघोषित नाकाबन्दी खुलाउन कूटनीतिक पहलका साथै राजनीतिकस्तरमा पनि संवाद भइरहेको बताउँदै अध्यक्ष दाहालले भारतले छिट्टै आपूर्ति सहज बनाउने विश्वास व्यक्त गरे ।
उनले नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले पारवाहन अधिकार अविच्छिन्न रहेको चर्चा गर्दै तत्काल अन्य मुलुकबाट हवाई र सडक मार्ग हुँदै अत्यावश्यक सामग्री ल्याउने पहल पनि भइरहेको जानकारी गराए ।
पत्रकारको जिज्ञासामा उहाँले नाकाबन्दीका कारण पार्टीहरुबीचको सम्बन्ध अझै बलियो भएको उल्लेख गर्दै चुनौतीपूर्ण यस घडीमा प्रधानमन्त्रीमा केपी ओली वा सुशील कोइराला जो भएपनि सहमतिकै आधारमा हुनुपर्ने बताए ।