काठमाडौँ, २४ असोज । नेकपा (एमाले) संसदीय दलका नेता तथा प्रधानमन्त्री पदका उम्मेदवार केपी शर्मा ओलीले राष्ट्रिय एकता, सहमति र राष्ट्रको विकासका निम्ति आफूले प्रधानमन्त्रीमा उम्मेदवारी दिएको वाताउनुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा नेपालको संविधानको धारा २९८ को उपधारा (३) एवम् व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा १९ को उपदफा (३) बमोजिम नेपालको प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्दै नेता ओलीले उक्त कुरा बताउनुभएको हो ।
नेता ओलीले लोकतान्त्रिक विधिबाट निर्मित लोकतान्त्रिक संविधान मुलुकलाई प्रदान गरेर राजनीतिक दलले ऐतिहासिक अभिभारा पूरा गरेका र संविधानसभाले गरेको व्यवस्थाअनुरुप नयाँ सरकार गठनका निम्ति आफू सदनमा उपस्थित भएको जानकारी गराउनुभयो ।
अनेक कठिनाइका बाबजुद अधिकतम सहमतिमा संविधान जारी भएको र सहमति एउटा प्रक्रिया र अभिष्ट हो भन्दै नेता ओलीले लोकतान्त्रिक प्रणालीमा प्रतिस्पर्धा हुनु स्वाभिक भए पनि अधिकतम सहमति प्राप्त गरेर संविधान जारी भएको सन्दर्भमा पछिल्लो समयमा त्यस्तै सहकार्य, सहमतिको वातारण बन्न नसकेकामा आफूलाई असहज लागेको चर्चा गर्नुभयो ।
विभिन्न दलको समर्थन पाएर उम्मेदवारी दिएको बताउँदै उहाँले भन्नुभयो, “नेपाली काँग्रेससँगसँगै सरकारमा रह्यौँ, गत वर्ष नेपाली काँग्रेसका सभापति एवम् संसदीय दलका नेता सुशील कोइरालाको नेतृत्वमा सरकार गठनमा म स्वयम् समर्थक थिएँ ।”
सबै दलको साथ, सहयोग, सहमति र समर्थनबाटै देशलाई अघि बढाउने आफ्नो चाहना रहेको र त्यसमा सबै पार्टीको साथ र समर्थन अपरिहार्य भएको बताउँदै एमालेको अध्यक्षसमेत रहनुभएका नेता ओलीले जनताका हकअधिकार, राष्ट्रिय एकता र समृद्धि, संविधान कार्यान्वयनका सन्दर्भमा नेपाली काँग्रेससँग सहकार्य गर्ने दृढता दोहोरयाउनुभयो ।
उहाँले एकसय बढी नयाँ कानुन निर्माण र तीनसय बढी अन्य ऐन संशोधन गर्नुपर्ने, देशका विभिन्न भागमा भइरहेका आन्दोलन र असन्तुष्टि सम्बोधन, भूकम्पले सिर्जना गरेको असहज परिस्थितिसँग जुद्धै पुनर्निर्माणका काममा जुट्नुपर्ने अहिलेको जटिल अवस्थामा स्वच्छ, पारदर्शी एवम् प्रभावकारी सञ्चालन, कृषिको आधुनिकीकरण, प्राकृतिक स्रोत साधनको अधिकतम उपयोग, व्यापार वृद्धि, पर्यटन विकास, सेवा क्षेत्रको प्रवद्र्धन, बाह्य लगानी आकर्षित गर्न अनुकूल वातावरण निर्माणमा आफू लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
छिमेकीसँगको असमझदारी चिर्र्दै आपूर्ति व्यवस्थालाई व्यवस्थित गर्न तथा सामाजिक सद्भाव कायम गर्ने, सामाजिक न्याय र समानतामा आधारित राष्ट्र निर्माणको काम पूरा गर्न एकता, सहमति नै आफ्नो अभिष्ट भएको ओलीले बताउनुभयो ।
साथै उहाँले नेपाली काँग्रेसका सभापतिलाई उम्मेदवारी फिर्ता लिएर आफूलाई समर्थन गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “सहमति र सहकार्यको पक्षमा नेपाली काँग्रेसकै नेता भएकाले त्यस निम्ति अग्रसर हुन सभापति कोइरालालाई अनुरोध गर्छु । उम्मेदावरी फिर्ता नलिए पनि नेपाली काँग्रेसको साथ र सहयोग लिन आफ्नातर्फबाट कुनै कसर राख्दिन ।”
प्रधानमन्त्रीमा आफूलाई विजयी तुल्याउन अनुरोध गर्दै उहाँले देशका विभिन्न भागमा आफूविरुद्ध भ्रम फैलाइएको, आफूलाई मधेसी, थारुलगायत समुदायको विपक्षीका रुपमा प्रस्तुत गरिएको तर त्यो व्यवहारबाट समाप्त पार्ने प्रण पनि गर्नुभयो ।
“हिमाल, पहाड तराई, मधेसी, थारु, जनजाति, उत्पीडित, अल्पसङ्ख्यक, मुसलमान सबै नेपाली हुन् र तिनका समस्या सम्बोधन गर्न उम्मेदवारी प्रस्तुत गरेको हुँ । देश र जनताका लागि केही गरौँ, एकताको सूत्रमा मुलुकलाई आबद्ध गर्ने र छिमेकी मुलुकसँग सुदृढ र सुमधुर सम्बन्ध कायम गर्ने लक्ष्य पूरा गर्न मलाई मतदान गर्नुहोस्”–आन्दोलनरत समूहका जायज माग सम्बोधन गर्ने दृढता व्यक्त गर्दै उहाँले भन्नुभयो ।
राजनीति सम्भावनाको खेल – अध्यक्ष दाहाल
नेता ओलीका प्रस्तावक एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राजनीति सम्भावनाको खेल भएको बताउँदै त्यसलाई चरितार्थ गर्न आफू नेता ओलीको पक्षमा उभिएको उल्लेख गर्नुभयो ।
संविधान जारी भएपछि गठन हुन लागको पहिलो सरकारको ठूलो महत्व रहेको र संविधान कार्यान्वयनको जिम्मेवारी चुनौतीपूर्ण रहेको भन्दै उहाँले मधेसमा आन्दोलनरत समूहसँग सहमति एवम् समझदारी गरेर राष्ट्रिय सहमतिमा जानुपथ्र्यो भन्नेमा आफू अडिग रहेको स्पष्ट गर्नुभयो ।
आन्दोलनरत मधेसी दलसहित सबै राजनीतिक दलको सहमतिमा सरकार बनाउने प्रयास भएको तर नेपाली काँग्रेसले १६ बुँदे सहमति गर्दै गर्दा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले पुनः उम्मेदवारी दिएर अविश्वासको वातावरण बनाएकामा दुःख प्रकट गर्नुभयो ।
अध्यक्ष प्रचण्डले सहमति र समझदारीबाटै सबैखाले विदेशी हस्तक्षेपलाई परास्त गर्न सकिने शिक्षा बिपी कोइराला, पुष्पलाल, मदन भण्डारीले सिकाएका तर काँग्रेसले साथ नदिँदा असहज परिस्थिति आएको दुःखेसो गर्नुभयो ।
सम्बोधनका क्रममा निक्कै भावुक बन्नुभएका अध्यक्ष प्रचण्डले देशलाई सङ्कटको भुँमरीबाट जोगाउन सबै राजनीतिक दल मिलेर जानुको विकल्प नभएको बताउनुभयो ।
राष्ट्रिय स्वाधिनताको रक्षाको लागि ओलीको समर्थन ः अध्यक्ष थापा
त्यसैगरी नेता ओलीका समर्थक राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर राष्ट्रिय स्वाधिनताको रक्षाको लागि नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा समर्थन गरेको बताउनुभयो ।
‘भारतसँगको सीमा क्षेत्रमा विद्यमान अवरोधका कारण जनताको जीवन प्रभावित भएको, बाह्य हस्तक्षेप बढेर गएको छ’ भन्दै उहाँले मुलुकलाई परेको सङ्कटलाई हटाउनका लागि राष्ट्रिय शक्तिबीच मेलमिलापको आवश्यकता रहेको बताउनुभयो ।
शान्ति प्रक्रियालाई अगाडि बढाउने र संविधान जारी गर्ने सवमालमा प्रमुख तीन दलको महत्वपूर्ण भूमिका रहेको भन्दै संविधान कार्यान्वयनका लागि एकताको विकल्प नभएको उहाँको भनाइ थियो ।
‘‘हामी प्रतिपक्षमा बस्छौँ, तपाइँहरु मिलेर सरकार बनाउनुस्, भनेर हामीले भनेका थियौँ । राष्ट्रिय शक्ति विभाजित भएको अवस्थामा मुलुक अप्ठ्यारामा परेको छ । यतिबेला एकता र सहमतिको आधारमा बढ्नुपर्ने अवस्थामा प्रमुख दलका बीचमा जुन अवस्था देखिएको छ । त्यसले शुभ सङ्केत गरेको छैन”–अध्यक्ष थापाले भन्नुभयो ।
सबै दलकाबीचमा एकताको जरुरी नेता थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता दीपक बोहोराले राष्ट्रिय समस्याको समाधानका लागि सबै दलकाबीचमा एकताको जरुरी रहेको भन्दै त्यसबाट बाहिर नजान आग्रह गर्नुभयो ।
प्रमुख तीन दलको सहमतिका आधारमा नेपालको संविधान जारी भएको भन्दै उहाँले विगतमा गरिएको १६ बुँदे सहमतिको भावनाबाट काँग्रेस विचलित भएकाले आफूहरुले नेकपा(एमाले)का उम्मेदवारलाई मतदान गर्ने निष्कर्षमा पुगेको बताउनुभयो । सहमतिको प्रक्रियामा सहभागी हुन काँग्रेसलाई आग्रह गर्दै उहाँले पूर्ववत् निर्णयमा पुनः विचार गर्न अनुरोध गर्नुभयो ।
त्यसैगरी नेकपा(माले)का महासचिव चन्द्रप्रकाश मैनालीले सात वर्षको अथक प्रयासपछि नेपाली जनताको सार्वभौम संस्था संविधानसभाले संविधान जारी गरेकाले त्यसलाई सहज कार्यान्वयन गर्न दलहरुबीच एकताको आवश्यकता रहेको बताउनुभयो ।
मुलुक नाकाबन्दीको स्थितिमा रहेको भन्दै उहाँले मुलुकमा परेको समस्यालाई समाधान गर्न विगतका सहमतिअनुसार प्रमुख दल मिलेर राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने धारणा राख्नुभयो ।
बहुजनशक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले संविधानको सहज कार्यान्वयन र मुलुकको प्रगतिका लागि आफूले एमालेका अध्यक्ष केपी ओलीलाई समर्थन गरेको बताउनुभयो । राज्यका हरेक तहमा महिला, जनजाति, आदिवासी, दलित र अल्पसङ्ख्यक समुदायको समान प्रतिनिधित्व होस् भन्दै उहाँले मजदुर र किसानको हक र अधिकारलाई संस्थागत गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
राष्ट्रिय जनमुक्ति पार्टी नेपाल लोकतान्त्रिकका अध्यक्ष शिवलाल थापाले संविधान जारी हुने क्रममा मुलुकका विभिन्न जातजाति तथा समूहले आन्दोलन गरेको र उनीहरुको माग संविधानमा नसमेटिएको भए पनि आगामी दिनमा समावेश हुने विश्वास व्यक्त गर्नुभयो ।
संविधानको सहज कार्यान्वयन गर्न र भूकम्पपछिको पुनः निर्माणलाई अगाडि बढाउनका लागि प्रमुख दलकाबीचमा सहमति हुनुपर्ने भएपनि त्यसो नभएको भन्दै दुख व्यक्त गर्नुभयो ।
समाजवादी दलका अध्यक्ष प्रेमबहादुर सिंहले मुलुकलाई विकास र समृद्धिको बाटोमा अग्रसर गराउने खुवी एमाले नेता ओलीमा भएकाले उहाँको उम्मेदवारीप्रति आफ्नो समर्थन रहेको स्पष्ट गर्नुभयो ।
डा भट्टराईको राजीनामा स्वीकृत
त्यसअघि सभामुख सुवास नेम्बाङले प्रधानमन्त्री सुशील कोइरालाले पदबाट दिनुभएको राजीनामा र गोरखा क्षेत्र नं १ का सांसद बाबुराम भट्टराईले एनेकपा (माओवादी) पार्टी र सांसद पदसमेत परित्याग गरेको सूचना सभामुखले वाचन गरेर सदनलाई जानकारी गराउनुभएको थियो ।