काठमाडौँ, २८ असोज । नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले राष्ट्रिय मुद्दामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग मिलेर अघि बढ्नुपर्ने ठहर गरेको छ ।
पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले काँग्रेससँगको सहयात्राका बारेमा आवश्यक छलफल र समन्वयका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मा दिएको छ ।
बैठकपछि स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले ‘भद्र सहमति’ तोडिएर प्रतिस्पर्धाका आधारमा प्रधानमन्त्रीको चयन भएको अवस्थामा पनि काँग्रेससँग मिलेरै राष्ट्रिय समस्याको समाधान गर्नुपर्नेमा पार्टीले जोड दिएको बताए ।
संविधान जारी हुनु पूर्व एमालेलाई प्रधानमन्त्री र काँग्रेसलाई राष्ट्रपतिको जिम्मेवारी बाँडफाँड गर्नेबारेमा प्रमुख दलबीच ‘भद्र सहमति’ भएको बाहिर आएको थियो ।
बैठकले रिक्त सभामुख र उपसभामुखको निर्वाचनका सन्दर्भमा अन्य दलसँगको समन्वय र आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई नै दिएको छ । बैठकमा मुलुकको वर्तमान अवस्थाबारे प्रधानमन्त्री ओलीले समग्र जानकारी गराउनुभएको थियो । बैठकले विद्यमान आपूर्ति व्यवस्थापनको समस्या सम्बोधनका लागि उच्च प्राथमिकता दिन सरकारलाई आग्रह गरेको छ । सोही सन्दर्भमा छिमेकी भारतसँग सीमामा जारी अघोषित नाकाबन्दीलगायतका विषयमा वार्ता गर्न उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा यही साता भारतको भ्रमणमा जाने बैठकमा जानकारी गराइएको छ । थापालाई सरकारले भारतसँगको वार्ताका लागि गठित समितिको संयोजक पनि तोकेको छ ।
एमालेले पेट्रोलियम पदार्थको अभावका समयमा जनताले देखाएको धैर्यप्रति आभार प्रकट गरेको छ ।
मन्त्री चयनको मापदण्डमा छलफल
बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएपनि ठोस निर्णय भएन । नेता पाण्डेका अनुसार मन्त्री चयनको मापदण्डबारे छलफल भएको र विधि र प्रक्रियाबाट निर्णय गर्न जोड दिइएको छ ।
बैठकले प्रधानमन्त्री ओली र नयाँ मन्त्रीलाई कार्यकालको सफलताको कामना गर्दै बधाई पनि दिएको छ ।