काठमाडौँ, ९ कात्तिक । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि मुलुकको राष्ट्राध्यक्ष बहुमतीय प्रक्रियाका आधारमा चयन हुने भएको छ ।
सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गरिने व्यवस्थापिका–संसद् सचिवालयको कार्यतालिका आइतबार नै अन्त्य भएपछि राष्ट्राध्यक्षको छनोट प्रक्रियामा बहुमतीय प्रक्रियामा प्रवेश गरेको हो । सचिवालयले बहुमतीय आधारमा ती पदका लागि सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मङ्गलबार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारीको प्रस्ताव दर्ता गराउन समय तोकिएको छ । सो अवधिभित्र दर्ता गराइएका प्रस्तावबमोजिमको राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारको वर्णानुक्रमानुसारको नामावली प्रकाशन हुनेछ ।
प्रकाशित नामावलीमाथि मङ्गलबार अपराह्न २ बजेसम्म दाबी विरोध गर्ने समय तोकिएको छ । उम्मेदवारी दर्ता गराएको भए पनि फिर्ता लिन चाहने उम्मेदवारलाई सचिवालयले समय समेत उपलब्ध गराएको सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए ।
निर्वाचन कार्यक्रमानुसार कात्तिक ११ गते अपराह्न ३ बजे व्यवस्थापिका–संसद्मा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि गोप्य मतदान हुनेछ । राष्ट्रपतिका लागि प्रमुख सत्तारुढ दल नेकपा(एमाले)ले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले हालसम्म ती पदका लागि उम्मेदवारी दिने घोषणा गरे पनि कसलाई उम्मेदवार बनाउने भन्नेबारेमा आधिकारिक निर्णय भने आइसकेको छैन ।
एकीकृत नेकपा (माओवादी)ले उपराष्ट्रपतिमा पूर्वलडाकु प्रमुख नन्दबहादुर पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । अन्य दलका तर्फबाट भने उपराष्ट्रपतिको उम्मेदवारको नाम सार्वजनिक गरिएको छैन ।