काठमाडौँ, २२ कात्तिक । नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालसहितको प्रतिनिधिमण्डल मधेसमा जारी आन्दोलन देश र मधेसी जनताका हितमा नरहेको सन्देश दिन पूर्वी तराई बारा पुगेको छ ।
करिब तीन महिनादेखि त्यस क्षेत्रमा जारी आन्दोलनबाट उत्पन्न भएका भ्रमका बारे पार्टीका स्थानीय तहका नेतालाई प्रशिक्षण गर्ने उद्देश्यले गएको सो प्रतिनिधिमण्डले नयाँ संविधानमा मधेसीले के पाए, के पाएनन्, भन्ने विषयमा संविधानमै केन्द्रित भई छलफल चलाउने छ ।
यसैबीच मधेसी जनतालाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पारेको भ्रम वैज्ञानिक ढङ्गबाट अन्त्य गर्न बाराको सिमरामा उपमहासचिव भुसालले त्यस आसपास क्षेत्रका मधेसी नेता तथा कायकर्तालाई सम्बोधन गर्दै अहिलेको संविधान लोकतान्त्रिक हिसाबले धेरै राम्रो र सम्पूर्ण जनताले अधिकार प्राप्त गरेको बताए ।
उनले मधेसी मोर्चा जनतालाई भ्रममा पारेर विदेशीसँग मिलेर मधेस आन्दोलन गरिरहेको बताउँदै संविधानप्रति कसैको चित्त नबुझेको विषय प्रक्रियामा गएर संशोधन गर्न सकिने हुँदा मधेस आन्दोलनका पछाडि नलाग्न मधेसी समुदायलाई आग्रह गरे ।
भ्रमणमा एमाले पोलिटब्युरो सदस्य शत्रुघ्न महतो, नेता पुरुषोत्तम पौडेललगायत छन् । सो प्रतिनिधिमण्डलले छठ पर्व अगाडि पर्सा तथा मङ्सिरमा पुनः बाराका अन्य स्थानमा प्रशिक्षण सञ्चालन गर्ने बताइएको छ ।