काठमाडौँ, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालबीच अघोषित नाकाबन्दीबाट उत्पन्न समस्या र मधेसी दलसँगको वार्ताका सम्बन्धमा आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा मधेसी दलसँगको वार्तालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
आइतबार प्रमुख तीन राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको वार्तालाई निरन्तरता दिई टुङ्ग्याउने र सीमाङ्कनका विषयमा पनि कसरी सहमति जुटाउन सकिन्छ भन्ने बारेमा छलफल भएको उनले जानकारी दिए ।
यस्तै सीमाङ्कनमा सहमति जुटाउने र मधेसी दलसँग अलगअलग वार्ता गरी निष्कर्ष निकाल्नुपर्ने विषयमा छलफल भएको अध्यक्ष दाहालका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए ।